गोरखा समाचारदाता
गोरखा – जन चाहना अनुसार काम गर्न सांसदहरुले कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
गोरखा क्षेत्र नम्बर २ बाट संघिय र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले जिल्ला प्रशासन कार्यालयमा भेला भएका कार्यालय प्रमुखहरुलाई जिम्मेवार बन्न अनुरोध गरेका हुन् । ‘जिल्लामा केहीवर्ष यता बिकास निर्माणको काम ठप्प छ, कार्यालयहरु परम्परागत ढङ्गले चलेको अनुभूती हुन्छ’ पूर्वप्रधान मन्त्री एवं क्षेत्र नम्बर २ का सांसद डा. बाबुराम भट्टराईले भने ‘अब स्पिड बढाउनु पर्छ, त्यसको लागि तपाइँहरु तयार हुनुहोस् ।’ कार्यालयहरुले सेवा प्रवाहलाई चुस्त राख्दै व्यवसायीक र पारदर्शी रुपले काम गर्नुपर्ने उनको जोड छ ।
गोरखाको बिकासका लागि महत्व राख्ने नदी किनारका सडकहरुलाई छिटो निर्माण सम्पन्न गर्नुको सट्टा अहिले पूर्व पश्चिम चिर्ने गरी तेस्र्रो सडक निर्माण गर्ने प्रयास भएको भन्दै उक्त निर्णय अव्यवहारिक रहेको उनले टिप्पणी गरेका छन् ।
यसै गरी राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डले तत्काल बुढी गण्डकी आयोजनाको मुआब्जा निर्धारण गर्न माग गरेका छन् । आरुघाट क्षेत्रको मुआब्जा निर्धारण नहुँदा सो क्षेत्रका स्थानीय अन्लौलमा रहेको उनको भनाई छ । ‘आरुघाटको मुआब्जा निर्धारण नभएको भन्दै जनता सडकमा ओर्लिएका छन’ उनले भने ‘काँग्रेस जनतालाई साथ दिन सडकमा जान तयार छ ।’ उनले गोरखा बारपाक सडक निर्माणमा ढिलाई भएको भन्दै दुख व्यक्त गरे ।
मध्य पहाडी लोकमार्ग अन्र्तगतको निबेल ठाँटीपोखरी खण्डको तत्काल ठेक्का सञ्चालन गर्न पनि पाण्डेले माग गरेका छन् । सोही अबसरमा प्रतिनिधि सभा सदस्य चुडामणी खड्काले परिवर्तनलाई आत्मसाथ गरेर मुलकलाई समृद्धिको दिशामा लैजाने गरी काम गर्न जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए । ‘सरकारले लिएको समृद्धी र बिकासको लक्ष्य तपाई हामी मिलेर पुरा गर्ने हो’ उनले भने ‘सोही अनुसार कर्मचारी साथीहरुले आ–आफ्नो कर्तृव्य निर्वाह गर्नु जरुरी छ ।’ बैठकमा जिल्लाका सबै सरकारी कार्यालयहरुले आफ्नो प्रगती प्रतिवेदन पेस गर्दै कार्य सम्पादनमा परेका समस्या सांसदहरु समक्ष राखेका थिए ।
त्यसपछि प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले जनताको चाहना अनुसार सेवा प्रवाहगर्न आफूहरु लागि परेको दाबी गरेका छन् । ‘सकेसम्म छिटो र प्रभावकारी ढङ्गले जनताको कामगर्ने नै हाम्रो जोड हो’ उनले भने ‘बिकास निर्माणका सन्र्दभमा देखिएका केही गतिरोध पनि अब हल हुने चरणमा छन ।’ बुढीगण्डकी आयोजना अन्र्तगत आरुघाट क्षेत्रको मुआब्जा निर्धारणको पनि अन्तिम गृहकार्य भइरहेको भन्दै छिट्टै सार्वजानिक गर्ने उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोककुमार गुरुङ, प्रदेश सभा सदस्य हरिशरण आर्चाय लगायतले समेत आफ्नो धारणा राखेका थिए ।



