गोरखा समाचारदाता
गोरखा – गोरखाको उत्तरी क्षेत्रमा बोलिदै आएको पराम्परागत २ भाषाको पहिचान गरीएको छ । यो संगै देशको अन्य भागको भाषाको समेत पहिचान गरीएको छ ।
पहिचान भएको नयाँ २ भाषा उत्तरी गोरखाको चुम र नुब्री भ्यालीमा बसोबास गर्ने स्थानियले सदियौ देखी बोल्दै आएको स्थानिय भाषा रहेको छ । उत्तरी गोरखामा बोलिने ति भाषालाई चुम (स्यार) र नुब्री (लार्के) भनेर पहिचान गरीएको भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले जानकारी दिए ।
यो भाषा संगै कञ्चनपुर, मनाङ, डोल्पा र मुस्ताङमा बोलिने राना थारू, नार फु, पोइके र सेराके (सेके) भाषा समेतको पहिचान गरीएको छ ।
भाषा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरेको छ । आयोगका अध्यक्ष डा.अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।
आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारी कामकाजको अभिलेखन, पञ्जीकरण, नामाकरण, प्रमाणीकरण र सम्प्रेषण नेपाली भाषामा हुने अनिवार्य व्यवस्था गरिनुपर्ने सुझाब समेत दिएको छ ।
नेपाली भाषाका अतिरिक्त प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण भएमा सम्बन्धित प्रदेशभित्रको सरकारी कामकाजको अभिलेखन, पञ्जीकरण, नामाकरण, प्रमाणीकरण र सम्प्रेषण सो भाषामा समेत हुने व्यवस्था मिलाइनुपर्ने सुझाव पनि दिइएको छ ।



