गोरखा समाचारदाता
काठमाडौं – सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेज विरुद्व उजुरी दिन आब्हान गरीएको छ । त्यस्ता कलेज माथि कारबाही अघि बढाउने भए पछि उजुरीको आब्हान गरीएको हो ।
शुल्क फिर्ता गर्न एक महिना समय दिएपनि मेडिकल कलेज सञ्चालकले बेवास्ता गरेपछि शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालय र आयोगले पीडित विद्यार्थी र अभिभावकलाई किटानी उजुरी दिन आव्हान गरेका छन् । मन्त्रालयले जारी गरेको विज्ञप्तीमा किटानी उजुरीका आधारमा प्रचलित कानूनबमोजिम कानूनी कारवाही अघि बढाइने उल्लेख गरीएको छ ।
तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई ठगी मुद्दामा कारवाही गर्ने सरकारको तयारी छ । मेडिकल कलेज सञ्चालकहरुले भने शुल्क फिर्ता नगर्ने र एमबीबीएसको नयाँ भर्ना नलिने धम्की समेत दिदै आएका छन् ।
शुल्कबृद्धिको विरोधमा विद्यार्थीहरु भने राजधानी केन्द्रित आन्दोलनमा छन् । सरकारले उपत्यकामा ४० र उपत्यका बाहिर ४४ लाख शुल्क निर्धारण गरेपनि सञ्चालकले ६० लाखसम्म विद्यार्थीसँग असुली गर्दै आएका छन् ।



