गोरखा समाचारदाता
गोरखा – बारपाक र लाप्राकबीच भएको सिमा विवाद सधैको लागि अन्त्य भएको छ । लामो समय देखि देखिएको सीमा बिबाद अन्त्य गर्दै दुवै पक्षले अब देखी सिमा विवाद नगर्ने सहमती गरेका हुन ।
सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा भएको सर्वपक्षीय भेलाले सिमा बिबादलाई बैद्धानिक रुपमा अन्त्य गर्ने सहमती गरे संगै दुवै गाउँका बिच ७ बुदे सहमती समेत भएको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख विण्णु भट्टले जानकारी दिए । ‘सिमा बिबाद समाधानको दिशामा गएको छ’ बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख भट्टले भने, ‘सबै पक्ष बसेर सातबुँदे सहमती समेत भएको छ, सहमती अनुसार नै अघि बढ्ने सबैको प्रतिबद्वता छ ।’
सर्व पक्षिय सहमती अनुसार भएको ७ बुदामा बारपाक सुलिकोट र धार्चे गाउँपालिकाले दुबै तर्फबाट सदियौ देखी प्रयोग हुँदै आएका सीमानामा रहेकाखर्कहरु आ–आफूले प्रयोग गर्दै जाने र एक भोगचलन गर्दै आएको खर्कमा कोही कसैले पनि नगर्ने र सबैले प्रयोग गर्ने, बारपाकको सामुदायिक बन समितिबाट नियन्त्रणमा लिईएको लाप्राकीहरुको पशु चौपाया तत्काल फिर्ता गर्ने, बारपाक–लाप्राकको सडक निर्माण कार्यलाई तत्काल अगाडी बढाउने र कोही कसैले अवरोध नगर्ने, बारपाक देखी लाप्राकसम्म आउने जाने बस सञ्चालनको व्यवस्था तत्कालै मिलाउने निर्णय भएको छ ।

त्यसैगरी बारपाक–लाप्राक सडकको कारण बिस्थापित बन्ने भएका तथा जोखिममा परेका स्यामेर, तसरा र तुस्सिका लगायतका बस्तीहरुको पुर्नःस्थापना तथा संरक्षणका लागि संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्ने पनि सहमती भएको छ । सहमती अनुसार दुबै गाउँपालिकाको सीमानालाई बैज्ञानिक ढङ्गले सिमाङ्कनको लागि स्थानीय बस्तीहरुको परामर्शमा संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्ने, स्थानीयको आवश्यकताको आधारमा प्राविधिकसँग परामर्श गरी खानेपानीको समुचित वितरण प्रणाली अपनाईने सहमति भएको छ ।
अन्य विवादका विषयहरु भएमा दुवै गाउँपालिकाका संम्बन्धित वडाहरुसँग आपसी परामर्श गरी टुंग्याउने र सो क्षेत्रमा शान्ति सुरक्षामा खलल पुग्ने खालका कुनै पनि क्रियाकलाप कोही कसैबाट नगर्ने निर्णय दार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुले जानकारी दिए । छलफलमा जिसस प्रमुख अशोककुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, बारपाक सुलिकोट गाउँपालिका प्रमुख विष्णु भट्ट, धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङ, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारी, राजनितिकदलका तर्फबाट नेकपाका यादव बस्नेत, नेपाली काँग्रेसका जिल्ला सभापति हरीबहादुर घले, समाजबादी पार्टी गोरखाका अध्यक्ष नारायण खत्री, सामुदायिक बनका प्रतिनिधीहरु, डिभिजन बन कार्याल गोरखाका प्रतिनिधी, सम्बन्धित वडाध्यक्षहरु र स्थानीय र समाजसेवी लगायतको सहभागीता रहेको थियो ।
लामो समय देखि बारपाक र लाप्राकबीच सीमा बिबाद हुँदा सो क्षेत्रका स्थानीय त्रसित भएका थिए । केही दिन अघि बारपाक र लाप्राकबीचको सडक सफा गर्ने क्रममा स्थानीयहरुसँग बिबाद भएको थियो । घटनाले उग्र रुप लिएपछि खर्कमा चर्न पुगेका पशु चौपायालाई बारपाकका स्थानीयले नियन्त्रणमा लिनुका साथै सडक सफागर्न गएको मेसिनका लागि लगिएको डिजेल समेत ड्रम काटेर तेल पोखिदिएका थिए । तत्काल बिबाद अन्त्य गर्ने सहमती भए सँगै दुवै तर्फका स्थानीयहरु खुसि भएका छन् । लामो समय देखि देखिएको सीमा बिबाद सधैका लागि अन्त्य गर्नुपर्ने उनीहरुको माग छ ।



