गोरखा समाचारदाता
गोरखा – पछिल्लो केही वर्ष नेपालमा पर्यटकको सख्ंयामा उल्लेखनिय बृद्वी हुन थालेको छ । पछिल्लो उदाहरण हेर्ने हो भने एसिया प्रशान्त क्षेत्रमा नै नेपालमा सबै भन्दा धेरै पर्यटक आएको विवरण सार्वजनिक भएको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको पर्यटक आगमनसम्बन्धी तथ्याङ्क अनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको पुष्टी गरेको हो ।
पाटाले सार्वजनिक गरेको विवरण अनुसार सन २०१८ मा नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको थियो।
नेपालले लगातार २ वर्ष पर्यटक आगमनमा वृद्धिदर हासिल गर्न सफल भएको हो । सन् २०१९ को अगष्ट सम्ममा ७ लाख ४२ हजार ६०० पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्याङ्कमा देख्न सकिन्छ । नेपालले सन् २०२० लाई भ्रमण वर्ष नै घोषणा गरी २० लाख पर्यटक भित्रायाउने तयारी गरेको छ । यसका लागि छुट्टै सचिवालय नै स्थापना गरेर तयारीको प्रक्रिया अगाडि बढाइ सकेको छ ।
भ्रमण वर्ष नै लक्षित गरेर भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने कामलाई तीव्र पारिएको छ ।
सरकारले २० लाख पर्यटक भित्रायाउन सामाजिक सञ्जालमा आधिकारिक लोगो प्रयोगदेखि विदेशमा रहेका नेपालीलाई त्यहाँका पर्यटक नेपाल पठाउने पहल गर्नसमेत आग्रह गरेको छ ।
भूकम्पपछि निकै कमजोर स्थितिमा रहेको नेपालको पर्यटन क्षेत्रको पछिल्ला वर्षको वृद्धिदरले सन् २०२० मा २० लाख पर्यटक भित्रायाउन सम्भव छ भन्ने देखिन्छ । यसमा मित्र राष्ट्र सहयोगिको रुपमा रहेको छ ।
पर्यटन आगनका हिसाबले नेपालपछि रहेको टर्कीमा २१.८ प्रतिशतको वृद्धिदर छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर छ ।
पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् ।



