गोरखा समाचारदाता
गोरखा – बेलायतमा भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । ‘क्याब्रियन पट्रोल–२०१९’ नाम दिएको उत्त सैन्य अभ्यासमा नेपाली सेना पहिलो भएर स्वर्ण पदक पाएको हो ।
प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गएको टोलीले अन्य देशको टोलीलाई पछाडी पार्दै पदक हात पारेको हो । सैन्य अभ्यासमा ३४ राष्ट्रको सहभागिता रहेको थियो ।
नेपाली सेनाले दिएको जानकारी अनुसार २४ असोजबाट संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सैन्य अभ्यास भएको थियो । बेलायती सेनाको १०६ जना सहित कुल १४० जनाले सैन्यमा भाग लिएका थिए ।
युद्धकालीन बिशेष परिस्थितिको कल्पना गरेर शत्रुपक्षको गतिविधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिनुका साथै अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्नुपर्छ ।
सहभागी टोलीको लडाईँका लागि तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थ पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका दक्षता परिक्षण गरिने नेपाली सेनाले जानकारी दिएको छ ।
सेनाले यस्तो सैन्य अभ्यासमा सन् २०१४ बाट भाग लिँदै आएको छ ।



