गोरखा समाचारदाता
गोरखा – चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण अवधिमा राजधानीमा ४८ घण्टा आवतजावतमा सर्वसाधारणलाई समस्या हुने देखिएको छ । राष्ट्रपति सी सहितको टोली शनिबार विमानस्थलमा अवतरण गरेपछि तीनकुने, बानेश्वर, त्रिपुरेश्वर हुँदै सोल्टी होटल प्रस्थान जाने छन ।
सि त्यहाँ केहीबेर आराम गरेपछि सोल्टीमोड, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै शीतलनिवास पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस अवधिमा सर्वसाधारणलाई आवतजावत गर्न समस्या हुनेछ ।
चिनियाँ राष्ट्रपति सी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबीच शनिबार नै शीतलनिवासमा भेटवार्ता हुनेछ। तालिका अनुसार साँझ ६ः३० बजे २ देशका राष्ट्रपतिबीच भेटवार्ता हुने छ ।
सवारी आवागमनलाई लक्षित गर्दै सरकारले आइतबार भने सार्वजनिक बिदा दिएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि ऐन, २०७० अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी र अन्य भिआइपी सवारी हुने क्षेत्रमा शुक्रबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।



