मोहसिन अलि मियाँ
गोरखा – व्यवसायीक कृषि पेशा अगाल्नेलाई अब लगानीको समस्या नहुने गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमीव्यवस्था मन्त्री लेखबहादुर थापाले बताएका छन् ।
दशैको अवसरमा कोखे समाज काठमाण्डौले गोरखा नगरपालिका २ मा गरेको खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले व्यवसायिक कृषि पेशा अंगाल्नेलाई राज्यले आवश्यक पुँजीको प्रवन्ध गर्ने बताएका हुन् । ‘व्यवसायिक कृषि पेशा अंगाल्ने सोचमा हुनुहुन्छ भने तपाईहरु तयार रहनुहोस’ उनले भने ‘अब लगानी गर्न पुँजीको अभाव हुदैन ।’

कृषि, पर्यटन र जलस्रोतको बिकास गरी गण्डकी प्रदेशलाई सम्बृद्ध बनाउने लक्ष्य सरकारले लिएको भन्दै उनले सोही अनुसारका कार्यक्रमहरु समेत सुरु भइसकेको दाबी गरेका छन् ।
कृषि र धार्मिक पर्यटन, आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको भन्दै मन्त्री थापाले ऐतिहासिक एवं धार्मिक स्थलहरुको संरक्षण र प्रचारप्रसारमा जोड दिनुपर्ने बताए ।
सरकारले कृषि सहकारी, कृषि समुह र कृषि कम्पनी मार्फत किसानहरुलाई अनुदान सहयोग गर्ने योजना निर्माण गरेको भन्दै उनले संगठित भएर कृषि पेशा अंगाल्न युवाहरुलाई आग्रह गरेका छन् ।
कोखे समाजको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न
कोखे समाज काठमाण्डौले विजया दशमीको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
गोरखा नगरपालिका २ मा घर भई बिभिन्न पेशा ब्यवसायमा आवद्ध रहि काठमाण्डौमा बसोबास गर्ने युवाहरुको सकृयतामा गत बर्ष स्थापना भएको समाजले सबै जातजाती, धर्म र लिंगका ब्यक्तीलाई एकतामा जोड्न भन्दै कार्यक्रमको आयोजना गरेको बताएको छ ।
समाजका बरिष्ठ उपाध्यक्ष रामचन्द्र आले मगरको अध्यक्षता भएको कार्यक्रममा गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमीव्यवस्था मन्त्री लेखबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । मन्त्री थापा समेत यसै वडाका स्थायी बासिन्दा हुन् ।
बिभिन्न खेलकुद एवं साँस्कृतिक प्रतियोगिता समेत आयोजना गरिएको कार्यक्रममा चर्चित लोकदोहोरी गायक धनबहादुर थापा लगायतको प्रस्तुती रहेको थियो ।

टोल स्तरिय फुटबलको उपाधी आशोकवारी क्लबलाई
कोखे समाज काठमाण्डौ र गोरखा नगरपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा भएको टोल स्तरिय फुटबल प्रतियोगिताको उपाधी अशोकबारी युवा क्बलले उचालेको छ ।
११ टोलको सहभागिता रहेको प्रतियोगितामा श्रीकृष्ण युवा क्लबलाई हराउदै अशोकबारीले उपाधी जितेको हो । त्यस्तै प्रतियोगितामा चण्डी केउरेनी क्लब तेस्रो भएको छ । उनिहरुले क्रमश ८ हजार, ५ हजार र ३ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

जिवनलाई कोखे मिनि म्याराथुनको उपाधी
कोखे समाज काठमाण्डौको आयोजनामा भएको पहिलो कोखे मिनि म्याराथुन प्रतियोगितामा जिवन थापा मगर प्रथम भएका छन् ।
कोखेको ठालडाँडाँ स्थित महादेव मन्दिरबाट सुरु भएको दौड आहाले भञ्ज्याङ, कटुसघारी, अमलेश्वाँरा, मानुपर हुदै श्यामबजारबाट पुन सुरुवात भएको स्थान ठालडाँडाँमा आएर टुंगिएको थियो ।
८ किलोमिटर दुरी रहेको दौडमा जिवनले ३५ मिनेटमा निर्धारित दुरी पार परेका थिए । त्यस्तै थमन बोहोराले ३६ र धिरन आलेले ३७ मिनेटमा दुरी पार गर्दै दोस्रो र तेस्रो भए । उनिहरुले क्रमश नगद ८ हजार, ५ हजार र ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यस्तै कार्यक्रमकै अवरसमा डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
६ समुहको सहभागिता रहेको प्रतियोगितामा गौरी शंकर युवा क्लबलाई हराउदै नर्सिङ भैरव युवा क्लब धारापानी पहिलो भएको छ ।
यसैगरी कार्यक्रममा वेलुन फुटाई, हाँडी फुटाई प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

दशैका अवसरमा समाजले पहिलो पटक आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँ, जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी थापा, कोखे समाजका सदस्य दण्डप्रसाद भट्ट (नविन), बिभिन्न राजनीतिक दलका प्रतिनिधी, स्थानीय युवा क्लब, टोलविकास संस्था, आमा समुह, समाजसेवी बुद्धिजिवी लगायतले बोलेका थिए ।
कार्यक्रमको सहजीकरण समाजका उपाध्यक्ष अब्दुल्लाह मियाँले गरेका थिए । कोखे समाजले आगामी बर्षहरुमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । कार्यक्रम गत सोमबार नवमीका दिन भएको हो ।

तस्विर : गोरखा समाचार



