गोरखा समाचारदाता
गोरखा – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको शुभकामना दिदै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
देउवाले मंगलबार शुभकामना सन्देश जारी गर्दै ‘विजया दशमीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्ररणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ भनेका छन ।
धार्मिक र सांस्कृतिक पर्वका साथै विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड भएको देउवाले बताए । उनले यो पर्वमा बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र नेपालको मौलिकता रहेको समेत बताए छन ।
सभापति देउवाले नेपाली काङ्ग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको बताउँदै लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सके मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने कुरा समेत जारी सन्देशमा उल्लेख गरेका छन् ।
संसारभरि शान्तिको सन्देश फैलाउने देशको रुपमा नेपालले आफ्नो परिचय बनाएको, एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजयादशमी पर्वले हामीबीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई बिर्सेर, देशको सर्वाङ्गीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्ने देउवाको धारणा रहेको छ ।




















