गोरखा समाचारदाता
गोरखा — काम शुरु भएको २ बर्षमा पनि गोरखा सदरमुकाममा सभाहल निर्माण सम्पन्न हुन सकेको छैन ।
गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन बहुउद्देश्यीय सभाहलको काम शुरु भएको २ बर्षमा पनि बन्न नसकेको हो । सभाहल नहुँदा गोरखामा सभा–समारोहका लागि समस्या हुँदै आएको छ ।
जिल्ला सदरमुकामा रहेको मध्ये समन्वय समितिको सानो सभाहल १०० देखि १५० जना अट्ने क्षमताको छ । ठुलै कार्यक्रम गनुपरे सदरमुकाम क्षेत्रको खेलकुद मैदानमा गनुपर्ने बाध्यता छ ।
७५० जना अट्ने सभाहल संघीय आयोजना कार्यान्वयन इकाई मार्फत भएको हो । साविकको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाबाट ठेक्का सम्झौता भएको उक्त सभाहल संघीयता कार्यान्वयन सँगै जिम्मेवारी सर्दा इकाई अन्तर्गत परेको हो ।
२०७४ माघ ३ गते ठेक्का सम्झौता गरी सभाहल निर्माणको जिम्मा पाएको रविना डाँफे जेभीले २०७७ को माघ २ मा निर्माण सम्पन्न गरी सक्नु पर्ने छ । तर कामको गति हेर्दा भने अझै २/३ बर्ष लाग्ने अनुमान सहजै लगाउन सकिन्छ ।
६ तले उक्त भवन निर्माणका लागि ३४ करोड ९० लाख ४६ हजारमा ठेक्का सम्झौता भएको थियो । दुई फ्लोरमा पार्किङ, सभाहल, बहुउद्वेश्यि हल लगायतका संरचना हुने गरी निर्माण गरीएको उत्त भवनको कामलाई गति नदिने र अनुगमन निरन्तर नहुने हो भने समय सिमा भित्र भवन निर्माण नहुने निश्चित छ ।
बसपार्क रहेको क्षेत्रमा सभाहल बनेको हो । १२ रोपनी क्षेत्रफलमा सभाहल निर्माणको काम थालिएको हो । सभाहल बसपार्कमा र हालको बसपार्कलाई उक्त वडाको साविकको ५ नम्बर वडाअन्तर्गत डण्डीडाँडामा स्थानान्तरण गरी काम सुरु भई रहेको छ ।



