गोरखा समाचारदाता
गोरखा – हिन्दु नेपालीहरुको महान चाड वडा दशैंको आज आठौ दिन अर्थात अष्टमी । गोरखाको शक्तिपीठहरुमा भत्तजनहरुको भिड लागेको छ ।
सदरमुकाममा रहेको गोरखकाली मन्दिर र मनकामना मन्दिरमा आज हजारौ भत्तजनहरुको भिड लागेको छ ।
दुवै शक्तिपीठमा बिहानै देखी भिड लागेको थियो । आज परेको अष्टमी पर्वमा दुर्गा भवानीको पूजा आराधनाका साथै पशु बली दिने गरीन्छ । महाअष्टमी समेत भनिने आजको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।
आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमको धारणा रहेको छ ।
आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उनले बताए । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा.गौतमको धारणा छ ।
आजकै दिन राति कालरात्रिका रुपमा पशुको बलि दिने परम्परा रही आएको छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।
आजैका दिन गोरखाको गोरखकाली मन्दिरमा ५ राँगा, ६ भेडा र ८ वटा बोकाको बली दिने गरिन्छ । त्यस्तै गरी भोली नवमीको दिनमा १ सतार, ६ राँगा र ८ बोका बली दिने गरीन्छ ।



