गोरखा समाचारदाता
गोरखा – गोरखा दरबारमा शुक्रबार देखी गुरु ज्यूको पल्टन (पृथ्वीनारायण शाहको पालाको सेना) बस्न थालेको छ । गोरखामा रहेको नेपाली सेनाको पहलमा आज देखी पल्टन बस्न थालेको हो ।
कालो दौरा सुरुवाल, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा र हातमा भरुवा बन्दुक लिएर पल्टन बस्न थालेको हो । पल्टनले लिने भरुवा बन्दुक भने पृथ्वीनारायण शाहको पालाको हो ।

नेपाली सेना अन्तरर्गत शार्दुल जंग गुल्म हनुमानढोकाको एक टुकुडी गोरखा दरबारमा बस्न थालेको गोरखामा रहेको रणसिंह दलका गणपति उज्वल केसीले बताए ।
ऐतिहासिक र धार्मिक हिसाबले निकै महत्व राख्ने गोरखा दरबारमा यो पल्टन राख्ने चर्चा दशकौ अगाडी देखी चलेको भएता पनि पर्यटन बर्ष २०२० लाई लक्षित गरी राखिएको हो । पृथ्वीनाराण शाहकै पालाको पोशाकमा खटीएका उनीहरु भने बिहान ६ बजे देखी साँझ ६ बजे सम्म दरबारमा बस्ने छन ।

सुरक्षामा बसेका उनीहरु संग जो कोहीले पनि फोटो समेत खिच्न पाउने ब्यवस्था मिलाइएको छ । फोटो खिचेको शुल्क भने लाग्दैन । संगै बसेर फोटो खिच्न पाउने भए पछि गोरखा दरबार आउने पर्यटकको संख्यामा बृद्वि हुने अनुमान गरीएको छ ।




















