नरेन्द्र ढकाल
गोरखा – अजिरकोट गाउँपालिकाले सडक मर्मतकालागि कामदार खटाएको छ ।
दशै नजिकिदै गर्दा बर्खाले भत्काएको सडक मर्मतकालागि ७० जना कामदार नियुक्त गरी खटाइएको गाउँपालिका उपाध्याक्ष चन्द्रमायाँ गुरुङले जानरकारी दिइन ।
‘हामीले अजिरकोटका सबै सडकमा दशै अघि नै सवारी सञ्चालन गर्ने उदेश्य लिएका छौं’ उनले भनिन,‘त्यसकालागि कामदारहरुलाई नियुक्त गरेर सडक मर्मतकालागि पठाएका हौं ।’ उनीहरुलाई १० दिनकालागि नियुक्त गरिएको हो ।
कामदारहरुको ज्याला सरकारी मापदण्ड अनुसार प्रतिदिन ७७० रुपैयाँ तोकिएको छ । ‘सडक मर्मत गर्नकालागि हामीले गाउँसभाबाट बजेट पारित गराएका थियौं’ उपाध्यक्ष गुरुङले भनिन, ‘अहिले आवश्यक कार्यविधि बनाएर इच्छुक दाजुभाई दिदिबहिनीहरुलाई काममा खटाएका छौं ।’
सो निर्णयले सडक मर्मतसँगै अजिरकोटका ७० भन्दा बढि स्थानीयलाई रोजगारीको अबसर पनि सिर्जना भएको छ । उक्त गाउँपालिकाले सडक मर्मतकालागि दुई वटा डोजर पनि परिचालन गरेको छ ।
आफैले डोजर किनेको अजिरकोटले अहिले काम धेरै भएकाले एउटा डोजर भने भाडामा लिएको हो । ‘बाटो बने सँगै देश विदेशबाट दशै मनाउन गाउँ आउनेहरुलाई सहजहोस् भन्ने गाउँपालिकाको चाहना छ’ उनले भनिन ‘बाटो भत्किदा गाउँगाउँ एम्बुलेन्स जान पनि सकेका छैनन्, त्यसपछि विरामीहरुलाई पनि सहज हुनेछ ।’
दुई वटा डोजर र ७० जना स्थानीयले सडक मर्मतको काम सुरु गरेपनि लगातारको झरीका कारण प्रभावित भएको छ । जसले गर्दा दशैमा अजिरकोटका गाउँगाउँमा सवारी साधन पुग्नेमा भने आशंका पैदा भएको छ ।



