गोरखा समाचारदाता
गोरखा – विजयादशमीको अबसरमा सिरानचोक गाउँपालिका–६ गाँखुमा खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।
हिमाली युवा क्लवको आयोजनामा गाँखुको गैरागाउँमा सुरु भएको प्रतियोगिताको राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । ‘खेल मनोरञ्जनका लागि मात्र होइन, यसले हामीलाई एकताको सुत्रमा बाध्य सघाउँछ’ उनले भने ‘जसरी खेल खेल्दा हामी एक हुन्छौं, त्यसरी नै यो समाजको बिकास र रुपान्तरणमा पनि एक हुन जरुरी छ ।’
क्वलका अध्यक्ष बिक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु गुरुङले स्थानीयतहहरु खेल क्षेत्रलाई प्रवन्द्र्धन तयार रहे पनि सम्बन्धित निकाय सदरमुकाममा मात्र सिमित रहेको आरोप लगाएका छन् । ‘अब एन्फा सदरमुकाम बाट निस्कनु पर्छ, अनि मात्र नयाँ खेलाडी उत्पादन हुन सक्छ’ उनले भने ‘खेलकुदको बिकास गर्न सिरानचोक गाउँपालिका सरोकारवाला सबै निकाय सँग हातेमालो गर्न तयार छ ।’
सोही अबसरमा बोल्दै एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले खेलको बिकास स्थानीय स्तरबाट हुने भएकाले खेल क्षेत्रमा लगानी बढाउन आग्रह गरेका थिए ।
वडा अध्यक्ष नारायणबाबु दानीले स्थानीय स्तरमा रहेका खेल प्रतिभालाई मौका दिन जिल्ला सदरमुकाममा रहेका सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
३२ टिम सहभागी रहेको प्रतियोगितामा पहिलो हुने ५० हजार, दोश्रो हुनेले २४ हजार र सान्त्वनाहुने दुई समूहले १०÷१० पुरस्कार पाउने क्लबले जानकारी दिएको छ ।



