गोरखा समाचारदाता
गोरखा – चाढबाढलाई लक्षित गरी खाद्य संस्थानले गोरखामा राखेको सहुलियत दरको चामल बिक्री हुन सकेको छैन ।
नेपाल खाद्य संस्थान गोरखा शाखाले हिन्दु नेपालीहरुको महान चाढ बढादशैं र तिहारको लागि भनेर सोना मन्सुली र जिरा मसिनो चामल बिक्री हुन नसकेको हो ।

बजार भाउ भन्दा १७ रुपैयाँ सम्म सस्तो जिरा मसिनो पनि बिक्री नभएको खाद्य संस्था गोरखाका सूचना अधिकारी मोहनप्रसाद बजगाईले बताए । बजारमा अहिले पनि सोही गुणस्तरको जिरा मसिनो चालम ७० देखी ७२ रुपैयाँमा बिक्री भई रहेको छ ।
संस्थानले जिरा मसिनो प्रति केजी ५५ र सोना मन्सुली ३९ रुपैयाँमा बिक्री गरी रहेको छ । शाखाले गोरखा बजार र वरपर रहेको गाउँ बस्तीका उपभोक्ताहरुलार्ई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियतदरमा चामल बिक्रि गर्न शुरु गरेको थियो ।

असोज २ गतेदेखि सहुलियतको चामल बिक्रि शुरु गरेको भएता पनि २ साता विती सक्दा सम्म संस्थानबाट सोना मन्सुली ७० केजी र जिरा मसिनो १२० केजी मात्र बिक्री भएको छ ।
कात्तिक १६ गतेसम्म संस्थानको कार्यालयबाट सहुलियत दरको चामल बिक्री गर्न पहिलो चरणमा २१० क्विन्टल चामल संस्थानको कार्यालय गोरखा ल्याईएको थियो ।

संस्थानको चामलको गुणस्तर राम्रो नहुने जनमानसको बुझाईका कारण पनि चामल बिक्री नभएको हुन सक्ने संस्थानले अनुमान गरेको छ । संस्थानले उत्तरी गोरखाको माछाखोला र सिर्दीबास डिपोमा जापानिज र सोना मन्सुली चामल बिक्री गर्दै आएको छ ।



