गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा जारी दशैं सस्तो मेलामा खुलेयाम जुवा खेलाइएको छ ।
गोरखा चेम्बर अफ कमर्सले आयोजना गरेको मेलामा गाउँका सोझा दर्शकहरुलाई झुक्याएर जुवा खेलाइएको उनीहरुको गुनासो छ । ‘म त गाउँबाट सामान किन्न आएको, त्यहाँ त खेलाउने गुप्र नै हुँदो रहेछ’ बालुवाका गेशबहादुर गुरुङले भने ‘खेल्दै जाँदा सपिङ गर्न ल्याएको २० सकियो ।’
झुक्याएर जुवा खेलाई टाट बनाएको भन्दै गुरुङले आफ्ना साथीहरुलाई भनेपछि आयोजकले २० फिर्ता गरेको छ ।
‘मैले कहिल्यै त्यस्तो कुरा खेलेको थिएन्, आफै फसेँ’ उनले भने ‘तर केही छैन उहाँले मेरो पैसा फिर्ता गरिदिनुभयो ।’ जुवा खेलाएको सूचना पाएपछि हामी मेला स्थलमा पुग्दा दुई ठाउँमा ठूलो रकम राखेर खेलाइएको थियो ।

मेलामा खुलेयाम जुवा खेलाइएको तस्विर सामाजिक सञ्जालमा पोष्ट भएपछि प्रहरीले बन्द गराएको हो । तर आयोजकले भने मेला व्यवस्थापनको जिम्मा लिएको ठेकेदारले जुवा खेलाएको दाबी गरेको छ ।
‘त्यसरी खेलाइएको भन्ने हामीलाई थाहा थिएन’ गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले भने ‘हामीले थाहा पाउने बित्तिकै बन्द गराइ खेल्नेहरुको पैसा समेत फिर्ता गराएका छौं ।’
अब जुवा नखेलाउन चेतावनी समेत दिएको उनले बताए ।



