गोरखा समाचारदाता
गोरखा – राजधानी बाहिरको चक्रपथको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय भएको छ । सोमबार बसेको लगानी बोर्डको बैठकले चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेश गरी सर्ट लिष्टमा परेका मध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी दिने निर्णय भएको हो ।
बैठकले सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई दिने निर्णय गरेको छ । दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने छ ।
बैठकले पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये सर्ट लिष्ट छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।
तस्विर गुगल




















