गोरखा समाचारदाता
गोरखा – पर्यटकीय नगरी पोखरा बाट चितवनको मुग्लीन सम्म ४ लेनको सडक बन्ने भएको छ ।
राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा साविक २ लेनको मुग्लिन–पोखरा सडक ४ लेनमा विस्तार हुने सडक विभागले जानकारी दिएको छ ।
मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक ४ लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको छ । सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन तयारीको अन्तिम चरणमा पुगेको छ ।
विभागका अनुसार सडक विस्तार २ चरणमा गरिने छ । पहिलो चरणमा पोखरा देखी आँबुखैरेनीसम्म र दोस्रो चरणमा मुग्लिन देखी आँबुखैरेनी विस्तार गरिने छ । सडक निर्माणका लागि ठेक्का प्रक्रियाको तयारी भइरहेको छ ।
सडकको विस्तृत परियोजना प्रतिवेदन कोरियन इन्जिनियरिङ कन्सल्ट्यान्टले तयार पारिरहेको हो । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको विभागले जानकारी दिएको छ।
ऋण सहयोगका लागि एसियाली विकास बैङ्कसँग सम्झौताको तयारी भइरहेको छ । पोखरा देखी आँबुखैरेनीसम्म करिब ८० किलोमिटर दूरी पर्छ ।
त्यस्तै गरी साविक मुग्लिनदेखि आँबुखैरिनीसम्मको सडकलाई भने विस्तार गर्न प्राविधिक समस्या आउने भए पछि मुग्लीन बाट गोरखा हुदै तनहुँको आँबुखैरेनी १३ किलोमिटर सडक तयारी भई रहेको छ ।
विभागले दिएको जानकारी अनुसार सडक छेवैमा रहेका गाउँबस्ती क्षेत्रमा ‘सर्भिस ट्र्याक’सहित सडक ६ लेनको र अन्य ठाउँमा ४ लेनको बन्ने छ । गाउँबस्तीमा सो सडकको चौडाइ ४० मिटर अन्य स्थानमा २५ मिटर हुनेछ ।
सडक विस्तारको लागि करिब २० अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । यो सडक विस्तारसँगै पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत सघाउ पुग्ने विश्वास गरिएको छ ।
तस्बिर गुगल



