गोरखा समाचारदाता
गोरखा – गोरखाका कुमार पन्तले एक कार्यक्रम बिच गैरआवासीय नेपाली संघको अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन ।
हाल संघको उपाध्यक्ष रहेका पन्तले शुक्रबार राजधानीमा उम्मेदवारी घोषणा कार्यक्रम राखेर अध्यक्षमा आफ्नो दावी प्रस्तुत गरे । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै पन्तले सम्मानपूर्ण वैदेशिक रोजगारी,, नागरिकता र मतदानको अधिकारका लागि सधै लडी रहने बताए । उनले आफू अध्यक्षमा विजयी गराएको खण्डमा संघले गर्दै आएको चालू परियोजनालाई निरन्तरता दिने, अन्तर्राष्ट्रिय संघ संस्थासंग सहकार्य गर्ने र बृटिश गोरखाहरुको मागको लागि पहल गर्ने बताए ।
नेपालमा गैर आवासीय नेपालीहरुले नागरिकताको बिषयमा धेरै अगाडी देखी लड्दै आएको भएता पनि हाल सम्म नेपाल सरकारले संघको मागको सुनुवाई नगरेको भन्दै नागरिकता पाउने अधिकार कार्यनयनका लागि नेपाल सरकार संग पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने र भिजन २०२० को एजेन्डालाई अघि बढाउने प्रतिबद्धता ब्यत्त गरेका थिए ।
पन्तको चिनारी
गोरखाको फुजेलमा जन्मिएको पन्त १९९९ मा अध्ययनका लागि जर्मन प्रवेश गरेका थिए । अहिले जर्मनको फ्र्यांकफर्टमामा बस्ने पन्तले समाजशास्त्रमा स्नातक गरेका छन । जर्मन तथा युरोपेली मुलुकमा सञ्चालित होटलहरुमा उनको ठुलो लगानी छ । पन्त जर्मनीको फ्र्यांकफर्टमा बस्छन्
पन्तले नेपालको जलविद्युत परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योग लगायतमा लगानी गर्दै आएका छन । सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी २००५ मा जर्मनीको हिस्सेन क्षेत्रका संयोजक हुन सफल भएका थिए ।
सन् २००९–२०११ मा अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भएसँगै युरोप क्षेत्रको संयोजकको जिम्मेवारी सम्हालेका थिए । सन् २०१३–२०१५ मा महासचिव भएका पन्त २०१५ यता आईसीसीमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
विभिन्न देशमा छरिएका नेपालीलाई संगठित, राष्ट्रिय समन्वय परिषद स्थापना र सञ्चालन, निष्क्रिय र समस्याग्रस्त एनसीसीहरुलाई सक्रिय बनाउन सफल भूमिका खेलेका पन्त विश्वभरिका एनआरएन माझ एउटा उदाहरणीय पात्र पनि हुन् । नेपालमा एनआरएन मैत्री नीति, नियम र संविधान बनाउन, लगानीको वातावरण निर्माण तथा सहजीकरण गर्न, विश्व भरिका एनआरएनलाई स्वदेशमा आर्थिक–बौद्धिक लगानी एवं परोपकारी कार्य गर्न प्रोत्साहित गर्ने अभियानमा सक्रिय रहँदै आएका छन् ।
भूकम्प, बाढी, पहिरो, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला राहत, उद्धार, पुनःनिर्माण लगायत परोपकारी कार्यमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएका पन्तल नेपाललाई समृद्ध बनाउने अभियानको साझेदार गैर आवासीय नेपाली बन्नुपर्छ भन्ने मान्यता राख्दछन ।
उनी एनआरएनको रु १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा पनि सक्रिय छन् ।

पन्तको प्रतिबद्वता पत्रमा के छ ?
आदरणीय एनआरएनए साथीहरू,
‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले १६ वर्षको अवधिमा धेरै रचनात्मक र गौरव गर्नलायक काम गरेको छ । विश्वका ८३ देशमा संघका राष्ट्रिय समन्वय परिषद्हरू गठन गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न सक्नु आफैंमा एउटा महत्वपूर्ण उपलब्धि हो ।
संघकै अभियानको प्रभाव र सम्मानस्वरुप नेपाल राष्ट्रले हामीलाई गैरआवासीय नेपाली ऐन ९२०६४० र नियमावली ९२०६६० मार्फत् कानुनी मान्यता दियो । संविधानसभाले संवैधानिक परिचयसमेत दिएको छ । गैरआवासीय नेपाली नागरिकताको संवैधानिक व्यवस्थाअनुरुप थप कानुन र कार्यविधि बन्दै छन् । तिनलाई एनआरएनमैत्री बनाउने अपेक्षा र प्रयासमा हामी छौँ ।
नेपालमा विभिन्न क्षेत्रमा गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी बढ्दो छ । विदेशबाट ज्ञान, अनुभव र सीप भित्र्याउन पनि संस्थागत प्रयास भएका छन् । संघमार्फत् विभिन्न सामाजिक र परोपकारी कार्यमा योगदान र पहल भएका छन् । मुलुकले सामना गरेका निकै संकटपूर्ण घडीमा यही संघको छातामुनि रहेर संसारभरका नेपाली मातृभूमिको पक्षमा उभिन सक्यौँ ।
वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारको साझेदारीमा समेत केही उल्लेख्य काम गर्न सफल भएका छौँ ।अग्रज अभियन्ताहरुले यो संगठनको परिकल्पना गर्नुभयो । सांगठनिक आकारमा ढाल्नुभयो । त्यसमा संसारभरका प्रवासी नेपालीको ऐक्यबद्धता, त्याग र समर्पण रह्यो । यही कारण संघ आज नेपाल र नेपालीबीच एक आशा र भरोसाको धरोहरका रुपमा खडा हुन सम्भव भएको छ ।
नेपाली डायास्पोराको बढोत्तरीसँगै स्वदेशबाट विदेशिएको र विदेशमै जन्मे–हुर्केको पुस्तामा यस अभियानप्रति निकै धेरै अपेक्षा छन् । र, केही जिज्ञासा पनि । साथै, संघ क्रमशः पहिलो पुस्ताबाट दोस्रोमा फड्को मार्दै छ । ती अपेक्षा र पुस्तान्तरणको क्रममा सन्तुलन कायम गर्दै यसलाई नयाँ उचाइ दिनु छ । सम्पूर्ण प्रवासी नेपाली समाहित हुन सक्ने फराकिलो भूमि तयार गर्नु छ । र, एक–अर्काबीच कुनै पनि प्रकारका सीमा र पर्खाल नरहने गरी स्वागत गर्न सक्ने अभियानमा यसलाई रुपान्तरित गर्नु छ ।
यस अभियानको सुरु कालदेखि नै कुनै न कुनै जिम्मेवारी र भूमिकामा रहेर सकेको योगदान गर्न पाउनु विशेष गौरवको रूपमा लिएको छु । तर, मलाई राम्रोसँग थाहा छ कि यतिमै रमाउने वा विगतमा गर्व गरेर मात्र बस्ने छूट हामीलाई छैन । यस संघप्रतिको आशालाई आकारमा ढाल्नु छ । भावनालाई सार्थक शक्तिमा परिणत गर्नु छ ।
सपनालाई नतिजामा साकार गर्नु छ ।यस संगठनको विभिन्न जिम्मेवारीमा रहेर संसारका अधिकांश मुलुकसम्म पुग्ने, गैरआवासीय नेपालीका भावना, समस्या र आकांक्षाहरुसँग घुलमिल हुने मौका पाएको छु । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मर्मसँग एकाकार हुने अवसर पाएको छु । पहाडमा भूकम्प जाँदा होस् वा तराईको आँधी र बाढी, संसारका प्रवासी नेपालीको भावनामिश्रित कोशेली लिएर गाउँठाउँ पुग्दा पाएको सद्भाव र आशिर्वादले अझै धेरै ऊर्जा सिञ्चित भएको महसूस गरेको छु ।
यो अनुभवले भन्छ– संघका विश्वव्यापी सञ्जाललाई अझ मजबुत र विस्तारित बनाई परिचालन गर्न सकिन्छ । अनि, स्वदेशको अपेक्षाअनुसार अझै ठूला योजना र अभियान सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ । त्यसतर्फ केही सोचहरु विकास भएका छन् र थप पहलहरु थालिएका छन् । तिनलाई निरन्तरता दिनु छ । संविधानमा नागरिकताको व्यवस्था गर्ने सन्दर्भमा होस् वा थप कानुनी र नीतिगत पहलकदमी, यी समग्र क्रियाकलापमा सहभागी हुँदा बाँकी काम सम्पन्न गर्ने अठोट अझै दरो भएको छ ।
एनआरएनको संगठित अभियानबाहेक व्यक्तिगत रुपमा पनि नेपालको सामाजिक विकास र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विभिन्न परियोजनामा संलग्न रहँदाको मेरो अनुभवले भन्छ– नेपालले हामीप्रति धेरै माया र अपेक्षा गरेको छ । त्यो अपेक्षा धेरै हदसम्म पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढाएको छ ।
गत वर्ष काठमाडौँमा सम्पन्न प्रथम ज्ञान सीप सम्मेलनले हाम्रो प्राविधिक दक्षता, बौद्धिक पुँजी अनि व्यवस्थापकीय अनुभवको शक्ति आकलन गर्ने आधार दिएको छ । यसलाई पुँजीकृत गरी राष्ट्र निर्माणमा परिचालन गर्नु छ । यस्ता अरु नवीन अवधारणा पनि कार्यान्वयनमा ल्याउनु छ ।आजसम्म तपाईँले विश्वास गरी दिनुभएको जिम्मेवारीलाई मैले मन, वचन र कर्मले समर्पित भई पूरा गर्न प्रयासरत रहँदै आएको छु ।
तृभूमिको माटो छोएर भन्छु, आगामी दिनमा पनि तपाईँको विश्वास डग्मगाउन दिने छैन । यस संस्थासँग हरेक प्रवासी नेपालीको स्वाभिमान र मर्यादा जोडिएको छ, यसलाई थप सुदृढ बनाउने प्रयत्नमै हर तरहले जुट्नेछु ।
आदरणीय साथीहरु,
अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्यकुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको हुँदा त्यो अनुभवलाई समेत हाम्रो संगठनको उचाइ वृद्धिमा लगाउनु मेरो कर्तव्य ठान्दछु । त्यसकारण यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा रहेर सामना गर्न सक्छु भन्ने विश्वास लिएको छु ।
तसर्थ विश्वभरिका धेरै एनआरएन साथीहरूसँगको घनीभूत अन्तक्र्रियापछि मैले १५–१७ अक्टोबर २०१९/९/२८–३० असोज २०७६, काठमाडौंमा सम्पन्न हुन गइरहेको ९ औं विश्व सम्मेलनमा गैर आवासीय नेपाली संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।
यस संगठनको एलसीसी, एनसीसी, क्षेत्रीय संयोजक, अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभवसहित सिंगो संगठनको नेतृत्व गर्नका लागि निम्न कार्ययोजना प्रस्तुत गर्दछु ।
स्वदेशको समृद्धि र लगानी
१) स्वदेशको विकास र समृद्धिका लागि सम्पूर्ण गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी भित्र्याउन सक्रिय रहनेछु । सानोदेखि ठूलो लगानीलाई अभियानमा समाहित गरी १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिनेछु । नेपाल सरकारकोसमेत लगानी रहने यस कोषले पूर्वाधार निर्माण लगायत विविध क्षेत्रमा लगानी गर्नेछ ।
२) विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहलहरु अघि बढाउनेछु । गत वर्ष मेरै संयोजकत्वमा काठमाडौँमा सम्पन्न पहिलो विज्ञ सम्मेलनका निष्कर्ष कार्यान्वयन गर्दै त्यसलाई निरन्तरता दिनेछु ।
३) विश्वभर छरिएका नेपालीमार्फत् नेपालका पर्यटकीय आकर्षण र गन्तव्यको प्रचारप्रसार गर्न विशेष योजना ल्याउनेछु । नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रोत्साहित गर्नुका साथै त्यसअनुकूल वातावरण तथा नीतिका निम्ति पहल गर्नेछु । सरकारले अघि सारेको नेपाल ‘भ्रमण वर्ष–२०२०’ को सफलताका लागि सिंगो गैरआवासीय नेपालीको शक्ति र सञ्जाल परिचालन गर्न जुट्नेछु ।
४) सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन भिजन–२०२० ले कल्पना गरेको एनआरएनए फाउन्डेसन विस्तार गरी सोहीमार्फत् एनआरएनहरुलाई सहभागी गराउनेछु ।
वैदेशिक रोजगारी
५) सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारीका लागि विद्यमान समस्या र समाधानका उपायबारे श्वेतपत्र तयार गरी त्यसैका आधारमा नेपाल सरकारसँगको समन्वयमा कार्ययोजना लागू गर्नेछु ।
६) वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्राष्ट्रिय श्रमबजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम नेपाल सरकारसँगको समन्वयमा कार्यान्वयन गर्नेछु ।
७)विदेशमा समस्यामा पर्न सक्ने नेपालीको उद्धार र राहतका लागि नेपाल सरकारसँग समन्वय गरेर वैदेशिक रोजगार राहत कोष वृद्धिमा लाग्नेछु ।
८) संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वयनका लागि विशेष पहल गर्नेछु ।
९) विदेशमा रहेका नेपालीको मतदानको अधिकारसम्बन्धी व्यवस्थाको व्यावहारिक कार्यान्वयनमा लागिपर्नेछु ।
संगठन सुदृढीकरण
१०) संसारका कुनै पनि मुलुकमा रहेका हरेक गैरआवासीय नेपाली संघमा आबद्ध हुन न्यूनतम शुल्क वा निःशुल्क सदस्यता पञ्जीकरणका लागि पहल गर्नेछु । विश्वका जोकोही नेपालीले गर्वसाथ यो संस्था मेरो हो भनेर आबद्ध हुन चाहने गरी संरचना सञ्जाल र छवि निर्माणमा जुट्नेछु ।
११) नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई संघका गतिविधिमा आकर्षित गर्दै स्वदेशसँगको सम्बन्धलाई कसिलो बनाउन विशेष ध्यान दिनेछु । साथै, त्यो पुस्ताको स्थानीय राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा सहभागिता बढाउनेतर्फ पनि मेरो ध्यान रहनेछ ।
१२) संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन गरिनेछ ।
१३) संघको विधि, विधान र संस्थागत प्रक्रियाहरूलाई अनुशरण गर्ने गराउनेछु । सचिवायलको प्रभावकारिता र क्रियाशीलतामा ध्यान दिनेछु ।
१४) हरेक गैरआवासीय नेपालीको समान भूमिकालाई स्थापित गर्न नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणालीबारे सम्भाव्यताको खोजी गरिनेछ ।
१५) संघको समयसापेक्ष विकास गर्न ‘भिजन २०२०’ को प्रस्ताव कार्यान्वयनको पक्षमा दृढ रहँदै यसलाई सफल बनाउन विशेष सक्रिय रहनेछु । साथै, संघको आर्थिक र सैद्धान्तिक स्थायित्व कायम गर्न विभिन्न कार्यक्रमहरु ल्याउनेछु ।
विशेष कार्यसूची
१) संघका चालू परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकतामा राख्नेछु ।
२) संघले आफ्नो मूल्य, मान्यता र परिकल्पनामा रहेर अगाडि बढाउन खोजेका परियोजनामा हाम्रो मात्र स्रोत–साधनले नपुग्ने भएमा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरिनेछ ।
३) समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछु ।
४) गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई उच्चस्तरबाट सम्बोधन गर्न नेपालको राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापनाका लागि प्रयासरत रहनेछु ।
आदरणीय साथीहरु,
अन्त्यमा, यस संघमा आजको मितिसम्म जति योगदान दिएँ, त्यसबाट मैले धेरै सिक्ने, बुझ्ने र ज्ञान हासिल गर्ने अवसर पाएको छु । सोही अनुभव र ज्ञानलाई अब नेतृत्वमै रहेर संस्थाका लागि योगदान गर्ने मेरो आकांक्षा छ । जिम्मेवार अध्यक्षका रुपमा संघलाई बलियो, एकताबद्ध र व्यवस्थित बनाउनेदेखि ‘राम्रो एनआरएनए हाम्रो एनआरएनए’ बनाउन इमान्दारीपूर्वक र प्रतिबद्ध रूपमा काम गर्ने प्रतिज्ञा गर्दछु ।
मेरा समस्त शुभचिन्तक तथा संस्थाका अग्रज, सहकर्मी एवं सम्पूर्ण सदस्यमाझ गैरआवासीय नेपाली संघको अध्यक्षको जिम्मेवारीमा मलाई विश्वास गरेर निर्वाचित गर्नुहुनेछ भन्ने अपेक्षासहित यहाँको अमूल्य मतका लागि हार्दिक अनुरोध गर्दछु ।
धन्यवाद
कुमार पन्त




















