×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

संविधानमा खतरा ‘बनाउनेहरूबाटै’

  •  
  • शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पछिल्लोपटक जनताको भावनाविपरीतका कानुन ल्याउने प्रयास भए । संवैधानिक निकायका दायरा खुम्च्याउने गरी विधेयक प्रस्तुत भए । संविधानको भावना र सत्तामा बस्नेहरुको उद्देश्य मेल नखाँदा लोकतान्त्रिक स्पेस साँघुरिँदै गएको आभास भयो ।

    दुर्गा खनाल काठमाडौँ — संविधान दिवस भव्य बनाउन तामझाम चलिरहेका बेला प्रधानमन्त्री केपी ओलीले बुधबार सिंहदबारबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आए बघिनीको जस्तो भूमिकामा उत्रिने बताए । ठीक तीन महिनाअघि उनले संसद्मा विपक्षी कांग्रेसले सम्बोधन गर्न रोकेपछि पत्रकार सम्मेलन गर्दै संविधानका तीनवटा मूल विशेषता गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि आक्रमण हुन थालेको अभिव्यक्ति दिएका थिए ।

    उनले भनेका थिए, ‘आज लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी स्पष्ट ढंगले देखिएको छ । घोर दक्षिणदेखि घोर वामपन्थीसमेत एकजुट भएका छन् ।’

    प्रधानमन्त्री ओलीकै जस्तो अभिव्यक्ति सत्तारूढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबाट पनि बेला–बेला आउने गरेको छ । गत वैशाख २४ मा उनको यस्तो अभिव्यक्ति संसद्मै रेकर्ड भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले भनेका थिए, ‘फेरि पनि लोकतन्त्रमाथि खतरा आउनेछ ।’ दाहालले आन्दोलनबाट प्राप्त उपलब्धिलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगतसमेत स्मरण गरेका थिए ।

    संविधान कार्यान्वयनको मुख्य दायित्व बोकेका प्रधानमन्त्री र सत्तारूढ दलका अध्यक्षबाटै किन यस्ता अभिव्यक्ति आइरहेका छन् ? संविधान र त्यसले संस्थागत गरेका उपलब्धिमाथि चार वर्षमै खतराको घण्टी बजेको हो ? कोबाट छ
    संविधानमाथि खतरा ? यस्ता प्रश्नको जवाफ संविधान जारी गर्ने शक्तिहरूतर्फ सोझिन्छ ।

    ‘यो संविधानमाथि खतरा छ भने जसले बनाए र जसले स्वामित्व लिनुपर्ने हो, तिनीहरूबाटै छ,’ पूर्वप्रशासक भोजराज पोखरेलले भने, ‘जुन खालको सुशासनको अपेक्षा गरिएको थियो, त्यो हुन सकेको छैन । शासकीय प्रवृत्तिमा परिवर्तन आएको छैन । शासन गर्नेहरूको यही शैली संविधानका लागि मुख्य खतरा हो ।’

    संविधानले स्थिरखाले शासकीय अभ्यासको परिकल्पना गरेको थियो । त्यसअनुसार तीन तहका संरचना बनेका छन् । केन्द्र र ६ वटा प्रदेशमा एउटै पार्टी दुई तिहाइ बहुमतका सरकार छन् । ७५३ स्थानीय सरकारमध्ये ४ सयभन्दा बढी एउटै पार्टीको नेतृत्वका सरकार छन् । सबै सरकार पाँच वर्ष टिक्ने सुनिश्चित छ । यस्तो अवस्थामा भटाभट जनसरोकारका काम गर्न राजनीतिक नेतृत्वलाई बाधा छैन तर खास काम भएको छैन । ‘दुई तिहाइको सरकारले उपलब्धिमूलक काम गर्न सकेको छैन, आफूले काम गर्न नसकेको कुराबाट ध्यान अन्यत्र मोड्न संविधानका उपलब्धि खतरामा छन् भनेर चित्रण गर्न खोजिएको हो,’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने ।

    नेपालको इतिहासमा ०१५ सालमा बीपी कोइराला नेतृत्वमा पहिलोपटक दुई तिहाइको शक्तिशाली सरकार थियो । अहिलेको सरकार त्योभन्दा शक्तिशाली छ । केन्द्रदेखि प्रदेश र स्थानीय सरकारसम्म एउटै पार्टीको नेतृत्व छ । एउटै विचार दर्शन र पार्टीगत नीतिबाट मुलुकभरका सरकार चल्न सक्छन् तर सरकार सञ्चालनको खास खुबी प्रदर्शन नभएको उनको भनाइ छ ।

    संविधान जारी गर्दा तत्कालीन मधेसी दल संविधानसभा छोडेर गएका थिए । चार वर्षको अवधिमा उनीहरू सत्ताको मोर्चामा आइसकेका छन् । भलै हरेक असोज ३ लाई ‘कालो दिवस’ भन्दै कर्मकाण्डी विरोध प्रदर्शन गरेका हुन् । उनीहरू अहिल्यै विद्रोहमार्फत संविधानलाई कमजोर बनाउन सक्ने अवस्थामा छैनन् । बरु सरकार निर्माण र संवैधानिक नियुक्तिहरूको भागबन्डामा सामेल भएर सहयोग गरिरहेका छन् । संविधान जारी गर्दाको भूराजनीतिक अवस्था पनि बदलिएको छ । नेपालमा नाकाबन्दी लगाउने शक्ति अहिले सहकार्य गर्न तयार भएको छ ।

    संविधानमाथि वक्रदृष्टि राख्ने भनेको पूर्वराजावादी समूह हो, जसको संगठित आकार छैन । संविधानमा फरक मत राख्ने राप्रपालगायत पूर्वपञ्चको पार्टी खिइँदै गएको छ । अहिलेको शासकीय संरचनामाथि प्रश्न गर्दै हिँडेका नेत्रविक्रम चन्द नेतृत्वको भूमिगत समूह केही संगठित छ तर संविधानका उपलब्धिलाई उल्टाउने शक्ति उसमा छैन ।

    ‘संघीयता, गणतन्त्र सहजै रूपमा स्विकारिएको विषय होइन, यसलाई मन नपराउने शक्ति पनि थिए र छन् तर तिनले संविधानमाथि चुनौती खडा गर्ने र खतरा पुर्‍याउने अवस्था छैन,’ नेकपा नेता खिमलाल देवकोटा भन्छन्, ‘संविधानको भावनाअनुसार काम गर्दै जाने हो भने खतरा छैन । त्यसबाट विचलित भयो समस्या आउने हो ।’ लामो समय असल शासन दिन नसकेको, न्याय पाउन नसकेको, भ्रष्टाचार र दण्डहीनता बढेको लगायत कारण सर्वसाधारण आजित थिए । संविधान जारी भएपछि एउटा व्यवस्था बन्ला, कानुनी राज र असल शासन सुरुवात होला भन्ने अपेक्षा थियो । यो चार वर्षको अवधिमा त्यसमा खासै भिन्नता देखिएन । ‘आमजनताको भावनासँग संविधानको मूल मर्म जोडिएन, दलहरूका क्रियाकलाप विगतमा भन्दा फरक भएनन्,’ पूर्वप्रशासक पोखरेलले भने, ‘मान्छेको असन्तुष्टि बढिरहेको छ, त्यसैलाई अहिले थ्रेटको रूपमा बुझ्न थालिएको छ ।’ उनका अनुसार शासकीय व्यवहार परिवर्तन भएको छैन, राज्यको अधिकार गैरराजनीतिक पात्र र बिचौलियाका हातमा गइरहेको छ । यो अवस्थाका कारण पनि संविधान खतरामा छ ।

    यो संविधानलाई लोकतान्त्रिक र जनताका अधिकारका हिसाबले धेरैले समृद्ध भन्छन् तर शासकीय अभ्यासमा संविधानले बोकेको लोकतान्त्रिक भावनाको प्रतिबिम्ब व्यवहारमा देखिँदैन । पछिल्लो पटक कानुन निर्माण गर्ने क्रममा जनताको भावनाभन्दा विपरीतका कानुन ल्याउने प्रयास भए । संवैधानिक निकायका दायरालाई खुम्च्याउने गरी विधेयक प्रस्तुत भए । संविधानको भावना र सत्तामा बस्नेहरूको उद्देश्य मेल नखाँदा लोकतान्त्रिक स्पेस साँघुरिँदै गएको अभास भयो । यस्तै व्यवहार बढ्दा संविधानमाथि खतरा बढ्ने विश्लेषकहरूको भनाइ छ ।

    संविधानले तीन तहका सरकारका लागि अधिकारको स्पष्ट सूची दिएको छ । ती सूचीमा आधारित भएर कानुन बनेका छैनन् । अधिकारहरू किस्ताबन्दीमा मात्र तल्लो तहमा लैजाने प्रवृत्ति देखिएको छ । यो संविधानका लागि खतरासूचक हो । ‘संघले प्रदेशलाई खुम्च्याइदिएको छ, पहिलेको अञ्चालाधीश कार्यालयजस्तो रूपमा प्रदेशलाई व्यवहार गरिएको छ, अधिकार हस्तान्तरणको कन्जुस्याइँ संविधानको मर्मअनुसार काम होइन,’ राजनीतिक विश्लेषक श्रेष्ठले भने, ‘यस्तो व्यवहारले संविधानमा खतरा ल्याउने हो । शासनमा बस्नेहरूबाटै यस्तो प्रदर्शन भइरहेको छ ।’

    संविधानले जनतालाई अधिक अधिकार दिने कल्पना गरेको छ । ३१ वटा मौलिक हक र अधिकारमुखी संवैधानिक आयोग त्यसैका सूचक हुन् । चार वर्षसम्म न मौलिक हकअनुसार जनताले पूर्ण अधिकार उपभोग गर्न पाएका छन् न अधिकारमुखी आयोग गठन भएका छन् ।

    यो संविधान सहमतिको दस्ताबेज हो । संविधान जारी गर्दाका शक्तिहरू छिन्नभिन्न भइसकेका छन् । विशेष गरी नेकपा र कांग्रेसको दूरी बढेको छ । सत्ताको विषयले बढेको दूरी संविधानका अन्तर्वस्तुमाथि पनि प्रश्न गर्ने तहमा पुग्न लागेको छ । संविधान जारी गर्दा धर्मनिरपेक्षता र गणतन्त्र स्विकार्ने कांग्रेसभित्र अहिले धर्मको कुरा बढ्दै जानु, संघीयताका विषयमा नेकपाभित्र शंकाको दृष्टि राख्ने जमात अझै हुनुले संविधानलाई समृद्ध बनाउन कति मद्दत पुगेको होला ? प्रश्न यहाँनेर उठेको छ ।

    ‘संविधान बनाउँदा विभिन्न मुद्दामा कम्प्रोमाइज गरिएको थियो, अहिले ती शक्तिको दूरी बढ्दा आफूले पहिले लिएका अडानको स्वामित्व लिने, अरू विषयको नलिने प्रवृत्ति छ,’ देवकोटाले भने, ‘त्यसैले केही खतरा छ भन्ने आशंका गर्न बल मिलेको हो ।’

    संविधानलाई समृद्ध बनाउन कार्यकारी मात्र होइन, व्यवस्थापिका र न्यायालयको पनि भूमिका हुन्छ । व्यवस्थापिकाको प्रभावकारितामा प्रश्न उठिरहेको छ । संविधानसँग जोडिएका विषयमा संसद् चनाखो नभएको गुनासो आइरहेको छ । संविधानको भावनाअनुसार संसद् नचलेको आरोप छ । यसको उदाहरण सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधानको व्याख्या हो । फरक–फरक दलको सभामुख र उपसभामुख हुनुपर्नेमा एउटै दलका छन् ।

    यसमाथि प्रश्न उठ्दा उम्मेदवारी दिँदा फरक दलको भएकाले एकतापछि यो लागू नहुने तर्क गर्दै संसद् चलिरहेको छ । यस्ता विषयको न्यायिक निरुपण गर्नुपर्ने न्यायालयले हो । यसका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलासको व्यवस्था पनि छ । यति प्रश्न उठिसकेको विषयमा न्यायालयले पनि महिनौंसम्म निर्णय दिएको छैन ।

    ‘संविधानको अन्तिम व्याख्याता न्यायालय यो बीचमा निर्विवाद भएर रहन सकेन, न्यायाधीश नियुक्तिलगायतमा समेत योग्यता, क्षमता र अनुभवले गतिलो ठाउँ पाएन,’ संवैधानिक कानुनका जानकार अधिवक्ता टीकाराम भट्टराईले भने, ‘संविधानलाई प्रभावकारी बनाउन सबै अंगको भूमिका हुन्थ्यो, त्यसमा सबैबाट कमजोरी भइरहेको छ ।’ विश्लेषकहरूका अनुसार यी सबै शासकीय अंगका कामजोरीको सिकार संविधान बन्दै गएको छ । त्यसका लागि संविधान जारी गर्ने शक्तिहरू नै जिम्मेवार छन् ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.