मोहसिन अलिमिया
गोरखा – केहि सामाजिक अभियान्ताको सकृयतामा गोरखा सदरमुकाममा पार्क निर्माण भएको छ ।
गोरखा नगरपालिका ६ तिनधारेका डा.राजुवाबु श्रेष्ठ र रञ्जित कुमार श्रेष्ठको पहलमा खोपीधारा पार्क निर्माण भएको हो । सामाजिक सञ्जाल मार्फत आर्थिक संकलन अभियान चलाएर उनिहरुले सो पार्क निर्माण गरेका हुन् । पार्क निर्माणका लागि १० लाख ५९ हजार ४ सय रुपैयाको लगानी भएको उनिहरुले बताएका छन् ।
शहरीकरण सँगै सार्वजानिक स्थलहरु अतिक्रमण हुँदै गएपछि पार्क, चौताराहरु लोप हुने खतरा बढिरहेका बेला उनिहरुले खोपीधारामा रहेको जमिनलाई सदुपयोग गरी पार्क निर्माण गरेको बताएका छन् । ‘बर्षौदेखि खाली बसेको जग्गालाई सदुपयोग मात्रै गरेका हौ’ अभियान्ता मध्येका एक राजुबाबु श्रेष्ठले भने ‘यसले सुन्दरता पनि कायम गर्ने र पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
उनिहरुले केहि महिना देखि सामाजिक सञ्जाल मार्फत अभियान चलाएर देश विदेशमा रहेका युवाहरुबाट रकम संलकन गरेका थिए । त्यस्तै पार्क निर्माणमा गोरखा नगरपालिकाले २ लाख रकम सहयोग गरेको थियो । ‘जब मैले पार्क बनाउने योजना फेसबुक मार्फत साथीहरुलाई बताएँ’ रञ्जित कुमार श्रेष्ठले भने ‘अनि देश तथा विदेशमा भएका आफन्त, साथीभाई र शुभ चिन्तकहरुले सहयोग गर्ने आवश्वासन दिनु भयो । कसैले निर्माण समाग्री समेत सहयोग गर्नुभएको छ, सबैको साझा प्रयासमा यो सम्भव भयो ।’
खोपी धारामा बनेकोे सो पार्कमा क्रियापुत्री घर, उनीहरुका लागि सुविधा सम्पन्न शौचालय लगायत सर्वसाधरणका लागि प्राकृतिक रुपमा व्यायाम गर्ने स्थान र विश्राम स्थलहरु निर्माण गरिएको छ । पार्कमा उच्च रक्तचाप भएका ब्यक्तिहरुलाई व्यायाम गर्ने स्थान समेत बनाइएको छ । तर पार्कभित्रै रहेको विद्युत ट्रान्समिटरले केहि जोखिम भने कायम रहेको उनिहरुले बताएका छन् । ट्रान्समिटर हटाउन नेपाल विद्युत प्राधिकरणलाई पटक पटक आग्रह गर्दा समेत अटेरी गरेको उनिहरुले दुखेसो गरेका छन् ।
पार्कको सोमबार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले सामाजिक काम पैसा र क्षमता मात्रै भएर सम्भव नरहेको बताए । ‘सामाजिक काम पैसा र क्षमताले मात्रै हुदैन, सबैभन्दा पहिला इच्छाशक्ति हुनुप¥यो’ उनले भने ‘जबसम्म हामीमा सकरात्मक सोच हुदैन त्यहा जतिसुकै पैसा र क्षमता होस त्यो कुनै काम लाग्दैन, र हुदैन ।’
आफ्नो ठाउँको विकास र संरक्षणमा स्थानीय नै जागरुक हुनुपर्नेमा जोड दिदै उनले अब इतिहासको संरक्षण गर्ने बेला आएको बताएका छन् । दिनप्रतिदिन ऐतिहासिक धरोहरहरु मासिदै गएको भन्दै उनले चिन्ता ब्यक्त गरे । ‘हामी सधै यो भएन, त्यो भएन भनेर अरुलाई दोष दिन्छौ, तर आफुले कति दायित्व पूरा ग¥यौ भन्ने हेक्का पनि राख्दैनौ’ पन्तले थपे ‘अब पनि इतिहास जोगाउनमा लागेनौ भने हाम्रा सन्ततीका लागि यो कथा मात्रै बन्ने निश्चित छ ।’ गोरखा संग्रहालय र दरबार क्षेत्रमा रहेको सिढी बाटो दिनानुदिन जिर्ण बन्दै गएको भन्दै उनले पुरातत्व विभागले नगरलाई अधिकार नदिदा आफुले चाहेर पनि मर्मत गर्न नसकेको बताए ।
नगरपालिका सम्पदा संरक्षणमा कार्ययोजना सहित अघि बढेको उनको भनाई छ । ‘आफ्नो समाज कतातिर लैजाने त्यो स्थानीय कै हातमा छ, आज ऐतिहासिक धरोहरलाई जोगाउन अभियानको आवस्यकता छ’ नगरप्रमुख पन्तले भने ‘हामीले गुरु योजना नै बनाएर अघि बढेका छौ, तपाईहरु साथ दिनुस नगरपालिका हरेक तवरको सहयोग गर्न तयार छ ।’ त्यस्तै उनले पार्क निर्माण हुनु ठूलो कुरा नभई त्यसको संरक्षण र संचालन चुनौतीपूर्ण रहेको बताए । कार्यक्रमकै अवसरमा उनले खोपीधारा पार्क संरक्षणका लागि बार्षिक ५० हजार सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
वडा नम्बर ६ का वडाध्यक्ष नारायण अर्यालको अध्यक्षतामा भएको पार्क उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले ऐतिहासिक धरोहरको संरक्षणमा स्थानीय लाग्नुपर्नेमा जोड दिएका थिए ।



