गोरखा समाचारदाता
गोरखा – लामो समयदेखि पक्षघात सम्बन्धी सेरेबल प्लासी रोगबाट पिडित पाल्पा आर्यभञ्ज्याङका मोहम्मद आराफातको उपचारका लागि गोरखाका मोहम्मद याकुवले रकम जुटाएका छन् ।
आर्थिक अभावका कारण अराफातको उपचारमा समस्या भएको जानकारी पाएपछि याकुवले गोरखामा रकम संकलनको अभियान चलाएका थिए ।
उनले जिल्लाका बिभिन्न स्थान तथा सामाजिक सञ्जाल मार्फत १ लाख १ हजार रुपैया संकलन गरी अराफातका परिवारलाई पठाएका हुन् । ८ बर्षका उनी लामो समयदेखि सो रोगबाट पिडित भई उपचारत छन् । ‘सामाजिक सञ्जालबाटै उसको उपचारमा रकम अभाव रहेको कुरा थाहा पाए’ याकुवले भने ‘यति सानै उमेरमा पैसाकै कारण उनले ज्यान गुमाउन नपरोस भनेर मैले गोरखाबाट पनि रकम संकलन गरेर पठाएको हुँ ।’
उनको उपचारका लागि गत महिनामा मुस्लिम समुदायले मनाएको इदका दिनमा समेत रकम उठाइएको थियो । बिशेष गरी मुस्लिम गाउँहरुबाट उनलाई आर्थिक सहयोग मिलेको याकुवले बताए ।




















