गोरखा समाचारदाता
गोरखा – जेष्ठ नागरिक संघ जिल्ला शाखामा पुनः मोहनलाल श्रेष्ठ अध्यक्ष चयन भएका छन ।
गोरखा सदरमुकाममा भएको राष्ट्रिय जेष्ठ नागरिक संघ जिल्ला शाखा गोरखाको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको निर्वाचन संयोजक नेपाल बार एशोसिएशनका जिल्ला अध्यक्ष यादव शर्माले जानकारी दिए ।
सनिबार भएको अधिवेशनमा जिल्ला कार्य समितिका सबै पद निर्विरोध भएको थियो । अधिवेशनले उपाध्यक्षमा दिलबहादुर बस्नेत, सचिव सोमबहादुर श्रेष्ठ, कोषाध्यक्ष जुनमायाँ श्रेष्ठ र सह–सचिवमा बोधप्रसाद अर्याल सर्व सम्मत चयन भएका छन ।
त्यस्तै गरी अधिवेशनले सदस्यमा मेदिनीबहादुर बस्नेत, जगन सिं गुरुङ्ग, ध्रुव कुवँर, ईश्वर बस्नेत, मोहनप्रसाद श्रेष्ठ र तुलसा मरहट्टालाई सर्व सम्मत चयन गरेको थियो ।

अधिवेशनको पानसमा बत्ति बालि उदघाट्न गर्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले जेष्ठ नागरिकलाई संघिय सरकारले अपहेलना गरी स्थानिय तहमा बजेट नदिएको बताए । ‘स्थानिय तहमा आउने शर्सत र निर्सत मध्ये कुनै पनि शिर्षकमा जेष्ठ नागरिकलाई भनेर बजेट नआएको’ भन्दै मेयर पन्तले ‘तर पनि जेष्ठ नागरिक हाम्रो प्रेरणाको श्रोत भएकोले भएको बजेटबाट जति सक्दो जेष्ठ नागरिकको हकहितमा कामगर्ने’ बचन दिए ।
जेष्ठ नागरिकहरुको सम्मानमा यसै बर्ष देखी गोरखा नगरपालिका भित्रको १४ वटै वडामा जेष्ठ नागरिक पार्क निर्माण गरिने, स्वास्थ्य संस्थाबाट चिनी तथा उच्च रक्तचापका औषधी निशुल्क उपलब्ध गराईने र यसै बर्ष सबै वडालाई समेटने गरी तिर्थ स्थलको भ्रमण गराउने समेत मेयर पन्तले बताए ।
समाजमा जेष्ठ नागरिकलाई हेर्ने दृष्टीकोणमा परिवर्तन हुदै गएकोले नेपाली समाजमा उनीहरुले नारकिय जिवन बिताउन बाध्य भएको देखिन्छ । विश्वमा नै ७८ करोड जेष्ठ नागरिक रहेको अनुमान गरिएको बेला नेपालमा मात्रै यो संख्या २७ लाख हाराहारीमा रहेको तथ्यांक नेपाल सरकार संग रहेको छ । त्यसमा पनि गोरखामा यसको संख्या २७ हजारको हाराहारी बाट बढेको अनुमान गरीएको छ ।



