गोरखा समाचारदाता
साउन ९ गते । लमजुङ्गको दोर्दीखोलामा बुधबार बाढीले बगाउँदा मृत्यु भएका ४ जनाको सनाखत भएको छ ।
मृत्तकहरुमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाका सइद अन्सारी, पर्सा जिल्ला पोखरिया नगरपालिकाका शिवधुन चौधरी, सप्तरी जिल्ला सप्तकोशी नगरपालिका–८ का भुवनेश्वर चौधरी र डडेल्धुराको आलिताल गाउँपालिका ६ का रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङ्गले जनाएको छ ।
दोर्दीखोलामा निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको हेडवर्क्समा काम गरिहेका कामदारलाई दोर्दीको बाढीले बगाएको थियो। मृत्तकको शवहरु नौथर शेरा र कीर्तिपुर बेंसीमा फेला परेको थियो ।
कार्यालयले दिएको जानकारी अनुसार बेपत्ता ६ जनाको खोजी बिहानै देखी भई रहेको छ। उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बेपत्ताहरुको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी गरी रहेका छन्।
बाढी दोर्दीखोलाको मुहानमा पहिरो गएर थुनिन गई एक्कासी बाढी आएको हुनसक्ने अनुमान गरिएको छ।



