दिपक श्रेष्ठ
साउन ९ गते । गैह्र आवाससिय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राक स्थित गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुना बस्ती निर्माणको ९५ प्रतिसत काम सम्पन्न गरेको छ । पहिरोको जोखिममा रहेका लाप्राकका ५ सय ७३ घरधुरीका भुकम्प प्रभावितहरुलाई स्थानान्तरण गर्नका लागि निर्माण गरिएको उक्त नमुना बस्ती यहि आउदो असोजको अन्तिम हप्तासम्ममा स्थानियलाई हस्तान्तरण गर्नेगरि काम अघि बढेको एनआरएनएका फिल्ड ओभरसियर डिल प्रसाद गुरुङले जानकारी दिए ।
गुरुङ्गले अहिलेसम्म करिव ४ सय वटा भन्दा बढि घरमा झ्यालढोका राख्ने काम सम्पन्न भईसकेको जानकारी दिए । ‘लगभग सवै घरको छाना छाउने काम सकिएको छ, गुरुङले भने, ‘अहिले झ्यालढोका राखेका घरहरुमा पेन्टिङको गर्ने लगायतका कामहरु भईरहेका छन् । एकिृकृत नमुना बस्तीका सवै घरहरु बुइंगल सहितका २ कोठे निर्माण भएको गुरुङले जानकारी दिए ।
‘एउटा घर निर्माणका लागि १२ लाख रुपैया खर्च भएको छ,’ उनले भने ‘घर निर्माणका क्रममा लाभग्राहीहरुले आफ्नो घरका लागि आबश्यक पर्ने ढुङगा, प्रतिघर ४० बोरा गिटी तथा दलान छाप्नका लागि काठहरु उपलब्ध गराएका हुन् ।’ स्थानियले सामुदायिक बनमा काटेको काठ ल्याउन समस्या भएपछि एनआरएनले आधा बाटोसम्म ट्याक्टर सञ्चालन हुने गरि बाटो निमार्ण गरिदिएको थियो ।
एकिकृत नमुना बस्तीमा निर्माण गरिएका घरहरुमा यसअघि शौचालय निर्माणको योजना नरहेको भएपनि अहिले स्थानियबासीको दवावमा प्रत्येक घरमा एउटा शौचालय निर्माणको काम समेत शुरु भएको छ । ‘पहिले डिजाइन स्टमेटमा शौचालय निर्माणको कुनै योजना थिएन् अहिले थप छलफलपछि सवैघरहरुमा शौचालय निर्माण गर्नेगरि काम शुरु भईसकेको छ ।’ गुरुङले भने ।
घर निर्माणका गर्न आबश्यक सामाग्री ढुवानीका लागि समस्या हुदा तोकिएको समयमा काम सम्पन्न हुन नसकेको उनले बताए। ‘गाह्रो निर्माणका लागि एसिसि व्लक उत्पादन यहीँ गरेपनि अन्य सामाग्री बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो, गुरुङले भने ‘झ्यालढोकाका लागि चाहिने फ्रेम, युुपिभिसी लगायतका सामाग्री काठमाण्डौंबाट ल्याइएको हो ।’
कुल १८.३ हेक्टर क्षेत्रफल रहेको उक्त नमुना बस्ती सार्वजनिक जग्गामा निर्माण गरिएको हो । बस्तीमा रहेको जग्गालाई ३÷३ रोपनी क्षेत्रफलमा बिभाजन गरि कित्ताकाट गरेर घर निर्माण गरिएको गुरुङले जानकारी दिए । ‘निर्माण भएका घरहरुको नम्बर लगाएर गोला प्रथा मार्फत स्थानियलाई छनोट गरेर बितरणको काम गरिएको हो,’ उनले भने , ‘त्यसैका आधारमा लाभग्राहीलाई कुन घर कसलाई दिने भनेर बितरण गर्न सजिलो भयो ।’
एकिकृत नमुनाबस्ती निर्माणका लागि नेपाली सेनाको रणसिंँह दल गणका १ सय ५० जना र अन्य १ सय जना गरि करिब २ सय ५० जना खटिएका थिए । त्यस्तै स्थानिय लाभग्राहीले समेत आफ्नो घरका लागि श्रमदान गरेको गुरुङले जानकारी दिए । समुन्द्र सतहबाट करिव २ हजार ७ सय ५० मिटरको उचाईमा रहेको लाप्राकमा दैनिक मौसम परिवर्तन भइरहने हुदा काम गर्न समस्या भएको उनको भनाई थियो ।


