कैलासबावु श्रेष्ठ
साउन ९ गते । राष्ट्रिय विभूती भिमसेन थापाको जन्म स्थल गोरखामा पहिलो पटक औपचारीक कार्यक्रम गरिएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ४ को आयोजनामा बिहीबार बिहान भिमसेन थापाको २४४ औं जन्म जयन्ती मनाईएको थियो ।

नगरपालिकाको पदेलीथोकमा पुख्यौली घर भएका थापाको सम्झनामा नगरपालिकाले भिमसेन पार्क समेत निर्माण गरी रहेको छ ।
कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले राष्ट्रिय विभूती भिमसेन थापाको त्याग र योगदानको सम्मान गर्न आगामी बर्ष देखी भब्य रुपमा कार्यक्रमको आयोजना गर्ने घोषणा समेत गरे ।

नगर प्रमुख पन्तले उत्त कार्यक्रममा थापाको सम्मानमा पार्क भित्र पुर्ण कदको शालिक तत्कालै निर्माण गरी १ महिना भित्रै स्थापना गर्ने घोषणा समेत गरे ।
त्यस्तै गरी आजै गोरखाको भिमसेन थापा गाउँपालिकामा पनि थापाको सम्झनामा विभिन्न कार्यक्रम गरिएको छ । आजै गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

थापाको जन्मको बिषयलाई लिएर विवाद छ । पुख्यौली थलो गोरखा सदरमुकामको पिपलथोक भएता पनि उनकी आमा गोरखाको बोर्लाङ्गमा माईत गएको बेला भिमसेन थापालाई बोर्लाङ्गमा नै जन्म दिएको एक थरीको भनाई छ भने अर्का थरीले उनी पुख्यौली थलोमा नै जन्मिएको दावी गर्दै आएको छ ।
सदरमुकाममा भएको कार्यक्रममा पिपलथोक देखी बाजागाजा सहित भिमसेन पार्क सम्म रयाली समेत गरीएको थियो । वडाध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले थापाको जन्म जयन्ती साता ब्यापी रुपमा मनाउन आग्रह गरे । कार्यक्रमलाई नगर उप प्रमखु बिनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंङ्ग थापा र गोरखा संग्रालयका प्रमुख नवराज अधिकारीलेले समेत सम्बोधन गरेका थिए ।



