गोरखा समाचारदाता
लाप्राकका सुकबहादुर गुरुङको घर भूकम्पले पूर्ण रुपमा भत्कियो । उनी सँगै गाउँका करिब ६ सय घर एकसाथ ढले तर छिमेकको घर ठडिदाँसम्म पनि उनी भने सरकारी कार्यालय धाउँदैछन् । ‘सेतो कार्डपनि पाइयो, रातो कार्ड पनि छ तर घर पाइन्’ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय आयोजना कार्यान्वयन इकाइको परिसरमा कागजपत्रको पोको देखाउँदै उनले भने ‘घर त पाइएन नै दुखः भने धेरै पाइयो ।’
लाप्राकमा गैरआवासिय नेपाली संघ (एनआरएनए) ले एकिकृत नमूना वस्ती निर्माण गरिहेको छ । पहिरोको उच्च जोखिममा रहेको उक्त गाउँलाई नै स्थानान्तरण गर्ने उदेश्यले धार्चे गाउँपालिका–४ गुप्सीपाखामा एकिकृत वस्ती निर्माण गरिएको छ । तर लाभग्राहीको सूचीमा नाम छुटेका ५० घर परिवार भने उक्त वस्ती निर्माणको काम टुलुटुल हेर्न विवश छन् । ‘पहिले हाम्रो घर लाभग्राही सूचीमा रहेनछ’ स्थानीय खुसि गुरुङले भनिन् ‘अहिले नाम त आयो तर हामीले गुप्सी पाखाको घर पाएनौं ।’ एनआरएनले पछि थपिएका लाभग्राहीको घर बनाउन नसक्ने भनेपछि उनीहरु हाहारगुहार गर्न बस रिर्जब गरेर जिल्ला सदरमुकाम आएका छन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइमा पुगेर आफूहरुले पनि गुप्सी पाखामा घर पाउनु पर्ने माग गरेका हुन् । ‘करेसो जोडिएको छिकेकीले गुप्सी पाखामा घर पाउने हामीले चाहीँ नपाउने ? यो अन्याय भयो’ खुसिले भनिन् ‘हामी गाउँले सबै एकै ठाउँमा बस्न पाउनुपर्छ ।’ गुजुमुज्ज परेको सिङ्गै वडा एउटै गाउँ रहेको लाप्राकका अधिकाशं घर गुप्सीपाखामा सर्ने भएकाले आफूहरु पनि उहीँ बस्न पाउनु पर्ने उनीहरुको माग छ ।
भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि अन्य घर समेत निर्माण भइसकेको छैन् । सोही अनुरुप एनआरएनएले थप घर बनाउन नसक्ने स्पष्ट पारेका छ । ‘जिम्मा लिएको काम त उहाँहरुले पुरा गर्नभएको छैन’ जिल्ला आयोजना कार्यान्वय इकाइका प्रमुख रामशरण आर्चायले भने ‘थप घर उहाँहरुले जिम्मा लिनौं भनिसक्नु भएको छ । यसलाई कसरी संबोधन गर्न सकिन्छ हामी पनि सोचिरहेका छौं ।’ एनआरएनएले वस्ती नै स्थानान्तरण गर्ने भएपछि लाप्राकलाई नेपाल सरकारले जोखिमयुक्त बस्तीको सूचीमा नराखेकाले थप सुबिधा दिन पनि समस्या भएको उनले बताए ।
केही दिन भित्र समन्वय समितिको बैठक बसेर उक्त समस्या बारे प्राधिकरणलाई जानकारी गराउने आर्चाय आश्वासन दिएका छन् । ‘पहिले लाभग्राही भएकाहरुले अनुदान पाए’ वडा अध्यक्ष राज गुरुङले भने ‘तर पछि थपिएका ३० जना र अझै थपिन बाँकी गुनासो भरेका २० जनाले नपाउने अवस्था आएको छ ।’ उनीहरुलाई घर दिलाउन आफू लागि परेको उनले बताए । एनआरएनएले थप घर नबनाउने भएपछि कहाँ गएर बस्ने भन्ने चिन्ता लाप्राकीलाई थपिएको छ । ‘कसैलाई काखा कसैलाई पाखा जस्तो भयो’ स्थानीय पूर्णिमा गुरुङले भनिन् ‘घर पनि छैन त्रिपालको टहरो चुइएर बस्ने ठाउँ छैन् ।’ उनीहरुले एनआरएनएले बनाएको जस्तै घर आफूहरुले पनि पाउनुपर्ने माग गरेका छन् ।
यदी उक्त कुरा सम्भव नभए घडेरी खरिद बापतको अनुदान उपलब्ध गराईदिन अनुरोध गरेका छन् । ‘घर त बनाएर बस्ने प¥यो, गाउँले सबै उठेर जाने हामी मात्र यो असुरक्षित ठाउँमा बस्नु भएन’ सुकबहादुर गुरुङले भने ‘हामीलाई घडेरी दिओस् गुप्सी पाखाकै छेउछाउमा गएर आफै घर बनाउँछौं ।’ सरकारले गुप्सिपाखासँगै उपलब्ध गराईदिए सहज हुने अपेक्षा स्थानीयको छ । गाउँका ५ सय ७३ घरधुरी उठेपछि बाँकी रहेका मात्र त्यहाँ बस्न नसक्ने उनीहरुको तर्क छ ।



