एउटा नयाँ अनुसन्धानले गुलियो पेयपदार्थका कारण असामयिक निधन हुने सम्भावना बढाउने देखाएको छ।
हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थले गत महिना प्रकाशित गरेको अनुसन्धानमा मानिसहरूले जति धेरै गुलियो पेयपदार्थ पिउँछन् – कारण जे भए पनि – उनीहरूमा असामयिक निधन हुने खतरा उति नै धेरै बढ्ने देखिएको छ।
सो अनुसन्धानका लागि ३० वर्ष उमेरभन्दा माथिका ३७ हजार पुरुष र ८० हजार महिलाबाट तथ्याङ्क सङ्कलन गरिएको थियो।
“महिनामा एक पटकभन्दा कम पिउनेभन्दा महिनामा एकदेखि चार पटक पिउनेहरूमा खतरा एक प्रतिशतले बढ्ने, हप्ताको दुईदेखि छ पटक पिउनेहरूमा खतरा छ प्रतिशत बढ्ने, दिनमा एक वा दुई पटक पिउनेहरूमा १४ प्रतिशत खतरा बढ्ने र दैनिक दुईभन्दा बढी पटक पिउनेहरूमा २१ प्रतिशत खतरा बढ्ने देखिन्छ,” प्रमुख अनुसन्धानकर्ता वसन्ती मलिकले भनिन्।
विश्वव्यापी खपत
अनुसन्धानले गुलियो पेयपदार्थ र मुटुसम्बन्धी समस्याबाट हुने असामयिक निधनका बीच गहिरो सम्बन्ध एवम् क्यान्सरबाट मृत्यु हुने सम्भावना रहेको देखाएको छ।
संसारभरि गुलियो पेयपदार्थको खपत बढिरहेको छ। सन् २०१८ मा संसारभरि औसतमा एक व्यक्तिले वार्षिक ९१.९ लिटर गुलियो पेयपदार्थ पिउने युरोमोनिटर इन्टर्न्याश्नलले बताएको छ।
गुलियो पेय पदार्थको विश्वव्यापी खपत
अर्ब लिटरमा
हार्भर्डको अध्ययनले ‘डायट’ वा चिनी कम भएका पेयपदार्थ खाँदा कम खतरा देखिए पनि उक्त प्रकारको पेयको विश्वव्यापी खपत औसतमा प्रतिव्यक्ति प्रतिवर्ष ३.१ लिटर मात्रै रहेको जनाएको छ।
बोतलमा बेचिने पेयपदार्थ धेरै खपत गर्ने देश –
| पेयपदार्थका पारखी देश: सन् २०१८ मा प्रतिव्यक्ति औसत खपत (लिटरमा) | |
|---|---|
| चीन | ४१०.७ |
| अमेरिका | ३५६.८ |
| स्पेन | २६७.५ |
| साउदी अरेबिया | २५८.४ |
| अर्जेन्टिना | २५०.४ |
| नाइजेरिया | २३३ |
| जापान | १८५.८ |
| यूके | १६८.३ |
| टर्की | १६०.६ |
| ब्राजिल | ११४.६ |
चीनमा प्रतिव्यक्ति दैनिक औसत खपत एक लिटरभन्दा बढी छ।
माथिको सूचीको पेय पदार्थमा बोतलमा पाइने पानी पनि समावेश छ।
तर तथ्याङ्कले के देखाउँछ भने चीनमा सन् २०१७ मा चीनमा बोतलको पानीको खपत प्रतिवर्ष प्रतिव्यक्ति औसत ३०.८ लिटर मात्रै छ।
यूके र चिलीसहित अन्य धेरै राष्ट्रमा गुलियो पेयमा चिनीकर लाग्छ
क्यालरीको हिसाब
सन् २०१५ मा ल्यान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा अमेरिकीहरूले गुलियो पेयपदार्थबाट दैनिक औसतमा १५७ क्यालरी प्राप्त गर्ने तथ्याङ्क थियो।
त्यति क्यालरी प्राप्त गर्नका लागि दिनमा एउटाभन्दा बढी कोला पिउनुपर्छ।
कोका-कोलाको ३३० मिलिलिटरको बोतलमा ३५ ग्राम वा सात चम्चाबराबर चिनी हुन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार दिनमा ५० ग्रामभन्दा बढी चिनी खानुहुँदैन।
तर अमेरिकाभन्दा धेरै चिनी खाने देशरू पनि छन्।
- ३५ ग्राम३३० मिलिलिटरको कोका-कोलामा चिनीको मात्रा जुन
- ७चम्चा चिनी बराबर हो
- १२.५ चम्चा चिनीविश्व स्वास्थ्य सङ्गठनले वयस्यका लागि तोकेको दैनिक मात्रा
स्रोत: कोका-कोला/विश्व स्वास्थ्य सङ्गठन
चिलीमा दैनिक प्रतिव्यक्ति खपत १८८ क्यालोरी थियो। तर यो चिलीले चिनी कर लगाउनु अगाडिको तथ्याङ्क हो।
चिनीकरपछि चिलीमा गुलियो पेयपदार्थको खपत २१ प्रतिशतले घटेको थियो।
संसारका ३० देशमा चिनीमा कर लाग्छ।
मलिकको अध्ययनपछि अरू देशले पनि चिनीकर लगाउने नीति लिनुपर्ने केही विज्ञहरूको भनाइ छ।
“यो अध्ययनले बालबालिका र किशोरकिशोरीका लागि गरिने गुलियो पेयपदार्थको विज्ञापनमा रोक लगाउने र चिनीकर लगाउनु पर्ने देखाएको छ किनभने अहिलेको चिनीको मूल्यमा यसको कारण हुने रोगहरूको उपचार खर्च जोडिएको छैन,” हार्भर्डका प्राध्यापक वाल्टर विलेटले भने।
बालबालिकामा पनि मोटोपन बढिरहेको छ
गुलियो पेयपदार्थको बालबालिका र किशोरकिशोरीमा पार्ने असरबारे विश्वभरि चिन्ता व्यक्त हुने गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९७५ मा मोटोपन भएका पाँचदेखि १९ वर्षका व्यक्ति एक करोड १० लाख रहेकोमा सन् २०१६ मा त्यो सङ्ख्या १२ करोड ४० लाख पुगेको थियो।
तर गुलियो पेयपदार्थको असर मोटोपनभन्दा घातक हुनसक्ने हार्भर्डको अध्ययनले देखाएको छ।

BBC



