विनोद नेपाल
शरीरका लागि खाना अनिवार्य हुन्छ । पोषणयुक्त र सन्तुलित खानाले शरीरलाई तन्दुरुस्त तथा चुस्त, स्फूर्त राख्न सहयोग गर्छ भने असन्तुलित र पोषक तत्वविहीन खानाले शरीरलाई कमजोर बनाउँछ । कतिपय खाद्य पदार्थ यस्ता हुन्छन्, जसले शरीरलाई फाइदा पुरयाउने वा कमजोर बनाउनेमात्र होइन कि नोक्सानी नै गर्छन् । चिनी, नुन, मैदा, चामल आदि हामीले धेरै प्रयोग गर्ने पदार्थ यसैमा पर्छन्, जसलाई विशेषज्ञ चिकित्सकहरू ‘ह्वाइट प्वाइजन’ अर्थात् ‘सेतो विष’ भन्ने गर्छन् ।
चिनी, नुन, मैदा, सेतो चामल, वनस्पति घिउजस्ता खाद्य पदार्थको नियमित र अधिक सेवनबाट स्वास्थ्यमा नोक्सानी पुग्छ । निश्चय नै, कम मात्रामा सेवन उत्तिको हानिकारक हुँदैन तर यिनको अधिक सेवनबाट स्वास्थ्यमा विभिन्न किसिमले हानि पुग्छ । यी सबैको रङ सेतो हुन्छ । यसैले यिनलाई ‘ह्वाइट प्वाइजन’ भनिएको हो ।
चिनीः चिनीलाई ‘फुडलेस फुड’ भनिन्छ । क्यालोरीको नाममा त यो रित्तो हुन्छ नै यसमा कुनै भिटामिन वा खनिज तत्व पनि हुँदैन, जो हाम्रो शरीरका लागि आवश्यक हुन्छ । चिनीको अधिक मात्रामा सेवन गर्दा मोटोपन र मधुमेहको खतरा बढ्छ । यसबाट अघि बढ्दै जाँदा मुटुको समस्या, क्यान्सर, मस्तिष्क घातजस्ता गम्भीर समस्या देखापर्न सक्छन् ।
सेतो चिनीलाई ‘रिफाइन्ड सुगर’ पनि भनिन्छ । यसलाई प्रशोधन गर्न सल्फर डाइअक्साइड, फस्फोरिक एसिड, क्याल्सियम हाइड्रोअक्साइड र एक्टिभेटेड कार्बनको उपयोग गरिन्छ । प्रशोधनपछि यसमा रहेको भिटामिन, खनिज, प्रोटिन एन्जाइम र अन्य लाभदायक पोषक तत्व नष्ट हुन्छन् र केवल सुक्रोज बाँकी रहन्छ, जुन तत्वको अधिक मात्रा शरीरका लागि घातक हुन्छ ।
अधिक चिनी उपभोगले मेटाबोलिजमसँग सम्बन्धित रोग जस्तै कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप हुन्छ । यस्तै पेटमा बोसोको पत्र जम्ने क्रमका साथै मोटोपन, दाँत र रोग प्रतिरोध समस्या देखापर्न सक्छन् । चिनीले कपाल, हड्डी, रगत र दाँतबाट क्याल्सियम सोस्छ । शरीरमा भिटामिन ‘बी’ को कमी र प्रतिकूल प्रभाव देखापर्नु पनि चिनीकै कारण हो । प्रशोधित चिनीका कारण मस्तिष्कमा रासायनिक क्रिया हुन्छ, जसले ‘सेरेटोनिन’ रसायनको श्राव हुन सक्छ । जुन हामीलाई राम्रो महसुस त गराउँछ तर केही समयपश्चात् थकान र क्रोध एवम् स्मरण शक्तिमा ह्रास आदिको महसुस हुन्छ ।

मधुमेहबाट पीडित मानिसलाई प्राकृतिक रूपमै गुलिया पदार्थ र फलफूल आदिको सेवन गर्नु उपयुक्त हुन्छ । स्वस्थ मानिसको हकमा पनि चिनीको साटो गुँड, मह, खजुर, फलफूल, फलफूलका जुस आदिको सेवन उचित हुन्छ । मह चिनीको सबैभन्दा उत्तम प्राकृतिक विकल्प हुन सक्छ । यसमा केवल फ्रुक्टोज या ग्लुकोजमात्र हुँदैन बरु विभिन्न किसिमका खनिज र भिटामिन पनि हुन्छन् ।
नुन : सामान्य मात्रामा नुनको सेवन हाम्रो शरीरलाई सुचारु रूपमा काम गर्न पनि आवश्यक छ तर अधिक मात्रामा नुनको सेवनले गम्भीर रोगहरूको जोखिम बढाउँछ । नुनको अधिक सेवनबाट मुटुसम्बन्धी रोग र उच्च रक्तचापको जोखिम बढ्छ । बढी नुन खाँदा रगतमा फलाम तत्वको मात्रामा कमी हुनुको साथै यसबाट एसिडिटी पनि बढ्छ, जसले भोक नलाग्दा पनि भोकको महसुस हुन्छ । फलस्वरूप हामी खानेकुरा खोज्छौँ र परिणाम क्यालोरीको मात्रा बढेर मोटोपनको समस्या आउन सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नुन प्रतिदिन पाँच ग्रामभन्दा कममात्र लिनुपर्छ ।

नुनिला तयारी खाना वा खाजाजन्य पदार्थ कमभन्दा कम खाने, तारेको पदार्थ कम खाने, पापड, चटनी र तयारी खाना सकभर कम खाने, मुटु, फोक्सो, मिर्गौलाको समस्या भएकाले कम सोडियमयुक्त नुनको सेवन गर्नुपर्छ ।
मैदा : गहुँ स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसो त मैदा पनि गहुँबाट नै बन्छ तर प्रशोधनक्रममा यसका सबै पोषक तत्व नष्ट हुन्छन् । यसका अतिरिक्त मैदाबाट बनेका चीजहरू सुरक्षित राख्न प्रयोग गरिने रसायन पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

मैदालाई ‘ग्लु अफ गट्स’ भनिन्छ । यसमा फाइबरको अंश हुँदैन, यसैले गर्दा यसको सेवनले पाचन प्रणाली प्रभावित हुन्छ । पाचन प्रणाली कमजोर हुँदा मेटाबोलिजम पनि कमजोर हुन्छ । यसकारण तौल बढ्छ । तनाव, टाउको दुख्ने र माइग्रेनजस्तो समस्याको शङ्का बढ्छ । गहुँबाट मैदा बनाउने प्रक्रियाक्रममा यसमा हुने राम्रो तत्व चोकरलाई फालिन्छ, चोकर पाचनका लागि निकै सहयोगी हुन्छ । मैदाको सेवन गर्नाले खराब कोलेस्ट्रोल ‘एलडीएल’ को स्तर बढ्छ, जसले गर्दा विभिन्न किमिसका स्वास्थ्य समस्याजस्तो मधुमेह, उच्च रक्तचाप आदि हुन सक्छ ।
मैदाको अधिक सेवनबाट बच्नुपर्छ तर कहिलेकाहीँ र कम मात्रामा प्रयोग गर्न भने सकिन्छ । यसको साटो स्वस्थ विकल्प चयन गर्नुपर्छ । जस्तो कि, समोसामा मैदाको साटो गहुँको पीठोको प्रयोग गर्न सकिन्छ । पीठोबाट बनेको पाउरोटी, चाउचाउ, पास्ता र म्याक्रोनी आदिको सेवन गर्न सकिन्छ । गहुँको पीठोबाट बनाइएका कतिपय खानेकुरा केही दिनसम्म सुरक्षित राख्न सकिनेखालका पनि हुन्छन् ।
चामल : सेतो चामललाई ‘रिफाइन्ड ग्रेन’ या ‘रिफाइन्ड कार्बन’ भनिन्छ । प्रशोधनका समयमा यसबाट भुससँगै बोक्रा निस्कन्छ, जसबाट भिटामिन ‘बी’ कम्प्लेक्स, आइरन र फाइबरजस्ता तत्व बाहिरिन्छन् । ‘ह्वाइट राइस’ लाई आकर्षक बनाउनका लागि चम्किलो बनाउने चलन पनि छ, यसबाट पोषक तत्वको मात्रामा झनै कमी हुन्छ । ‘ह्वाइट राइस’ का दानामा ‘एन्डोस्पर्म’ हुन्छ, जुन शुद्ध स्टार्च हो । स्टार्चलाई स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छ किनकि यसले इन्सुलिनको मात्रा बढाइदिन्छ । यसलाई खाँदा रगतमा सुगरको स्तर बढ्छ, जसले मधुमेहको जोखिम वृद्धि हुन्छ ।

यथासम्भव ‘ब्राउन राइस’ अर्थात् बोक्रासहितको खैरो चामल प्रयोग गर्ने । यसमा फाइबर र अन्य पोषक तत्वको मात्रा अधिक हुन्छ । ‘ब्राउन राइस’ फाइबरको राम्रो स्रोत हो । यसमा भिटामिन ‘बी’ १२, खनिज र एमिनो एसिड पनि हुन्छ ।
कतिपय मानिस स्वास्थ्यभन्दा बढी स्वादलाई महत्व दिन्छन् । तिनलाई नुनिलो र मसलायुक्त परिकारको स्वाद बढी नै मन पर्छ । कसैले हेर्दा राम्रा चीज मन पराउँछन् तर यी स्वास्थ्यका लागि खतरनाक हुन्छन् । यसबाट विभिन्न किसिमका जोखिम बढ्ने गर्छ । स्वस्थ जीवन नै सुखी जीवन हुने सन्दर्भमा खानका लागि बाँच्ने नभई बाँच्नका लागि, स्वस्थ, सक्रिय र खुसी रहन खाने सोच राख्नुपर्छ । खानासँगै सक्रिय रहने प्रयास गरेमा दीर्घ जीवन सुनिश्चित हुन्छ ।
सेतो डल्लो घिउ : वनस्पति घिउका नाममा बजारमा देखिने सेतो घिउ पनि शरीरका लागि फाइदाजनक मानिँदैन । यसमा विभिन्न नाममा मिसाइने मिश्रणका कारण यसको प्रयोग घटाउनु नै श्रेयष्कर हुन्छ । यस्ता घिउमा ट्रान्स फ्याटको मात्रा बढी हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । वनस्पति वा डाल्डा घिउका नाममा बिक्री हुने यस्ता सेतो डल्लो घिउ सामान्य होटल तथा रेस्टुराँहरूमा बढी नै प्रयोग हुन्छ, जुन विभिन्न थरीका रोग निम्त्याउन सहयोगी हुन्छन् । अवस्था तथा मात्रा हेरेर गाई वा भैँसीको शुद्ध घिउ शरीरका लागि उत्तम नै मान्न सकिने पोषणविद्हरूको भनाइ छ ।

स्रोत स् विभिन्न अन्तर्राष्ट्रिय प्रकाशन ।


