नारायणप्रसाद पौडेल
‘जन्मनाजायते शुद्र कर्मणा द्विज उच्यते’ र ‘यत्र नार्यस्तुपुज्यन्ते रमन्ते तत्र देवता’ महिला, जनजाति र दलितहरूले त्यही मनुस्मृति हेरेर हिन्दु धर्म र संस्कारतिर औँला उठाउँदा आजभन्दा चार हजार वर्ष पहिलेको त्यो कुरा भन्ने बिर्सनु भएन । अनि सात समुद्र पारीकाहरू, जसले यहाँ आएर हिन्दु सभ्यता र संस्कारविरुद्ध प्रहार गरेर आफ्नो धर्म लाद्ने कोसिस गरेका छन्, तिनीहरूको समाज व्यवस्था र संस्कारको त शुरुवातै भएको थिएन त्यतिबेलासम्म ।
इस्लामहरूको पनि पैगाम्बर मोहम्मदभन्दा अघिको इतिहास, सभ्यता र संस्कार पाउन सकिँदैन । दुई हजार वर्ष यताका हुन् दुवै । इस्लाम र इसाईहरू भन्दा पहिले नै विकास भइसकेको थियो बुद्ध र जैन सम्प्रदायको, २६ र २७ सय वर्ष पहिलेका हुन् ती । पुराना कुरा ल्याएर अहिले प्रायोजित बहस चलाउनुको अर्थ छैन । केही कर्मकाण्डी पण्डाका डण्डा, कुरीति र कुप्रथाका अस्ताउँदा कुरालाई लिएर सिङ्गो सभ्यतामाथि आक्रमण गर्न पर्दैन, पाइँदैन । धेरै अघि बढिसकेको छ समाज । भएको छ सुधार पनि ।
हिन्दु धर्मका विरोधीहरूले केही सामाजिक कुरीति, कुप्रथा र जातीय विभेदभित्रका छिद्रमा छिरेर गर्ने प्रहार विस्तारै निस्तेज हुने छन् । किन कि शूद्र (दलित) पनि शक्तिपीठका सन्त महन्त हुन्छन् भन्ने प्रमाण प्रस्तुत भयो भर्खरै, सन्त कन्हैया प्रभुनन्द गिरी महामण्डलेश्वर घोषित हुनुभयो । प्रयाग (भारत)मा चलिरहेको कुम्भमेलाको पहिलो दिन शाही स्नानपछि अखिल भारतीय अखडा परिषद्ले उहाँलाई उपाधि प्रदान गरेछ । उहाँले दलित र पिछडिएका व्यक्तिलाई शोषण हुन्छ भन्दै धर्म परिवर्तन गरेका व्यक्तिलाई पुख्र्यौली धर्ममा फर्कन आह्वानसमेत गर्नुभएको छ । जुना अखाडासँग सम्बन्धित उहाँ सन्न्यास लिनु पूर्व कुमार कश्यप हुनुहुन्थ्यो ।
आफुले कैयौँ पटक जातिगत अपमान र शोषण सहेको बताउँदै उहाँले भन्नुभएको छ, “सन् १९९९ मा चण्डीगढमा शिख गुरुको आगमनका बेला जाँदा शूद्रलाई प्रवेशको अनुमति नभएको भन्दै अप्ठ्यारोमा पारे, रोके । आज मसँग झुक्छन् । म एक धार्मिक नेता हुँ र जातिगत मानसिकताविरुद्ध लडिरहनेछु । आज शाही स्नानका लागि रथमा बसाइयो । मेरा वरिपरि सबै श्रद्धालु बाजा बजाएर नाचिरहेका छन् । मेरा समुदायका व्यक्ति पनि यो सम्मानका लागि योग्य छन् । ”
आपूmले संस्कृत पढ्न खोज्दा कट्टरपन्थीले रोकेको स्मरण गर्दै उहाँले जगद्गुरु पञ्चानन महाराजको शरणमा आपूm गएको जानकारी दिनुभयो । “उहाँले मलाई शिक्षा दिनु भयो र मन्दिरको पुजारी बनाउनु भयो । त्यो बेला पनि ममाथि केहीले हातपात गरे । आपूmहरूमा पनि अशोक र चन्द्रगुप्त मौर्य रहेकोले सङ्घर्ष गरेर हामी अगाडि बढ्छौँ र सफल हुन्छौँ ठाने । ” उहाँले भन्नुभयो ।
प्रभुनन्द गिरीको सङ्घर्ष र सफलता आफैँमा अनुकरणीय उदाहरण हो । नेपालका कथित दलितबाट पनि निष्कनु पर्छ त्यस्तै व्यक्तित्व र साथ दिनुपर्छ सुधारका पक्षधरले । कानुनले नै मद्दत गर्छ भन्ने कुराको प्रचार पु¥याउनुपर्छ पछाडि परेका कुना कन्दरामा । मन्दिर प्रवेशमा रोक लगाउनेलाई नै लखेटेर राख्नुपर्छ दलित र महिला पुजारी । त्यसपछि आफैँ रोकिन्छ धर्म परिवर्तन ।
करिब तीन हजार ७०० वर्ष पहिले राजा जनकको सभामा याज्ञवल्क्यसँग बहस (शास्त्रार्थ) गर्ने विदूषी गार्गी वाचक्नवीको इतिहास लुकेको विषय भएन । कुनै जमानाका ठूले राई, शिक्षा दीक्षापछि स्वामी डा. प्रपन्नाचार्यका रूपमा सम्मानित हुनु भएकै थियो । अग्रणी अभियन्ता योगी नरहरिनाथ पनि ब्राह्मण कुलमा जन्मनुभएको थिएन । गोर्खाको मनकामना मन्दिरका पुजारी मगर हुन्छन् । काठमाडौँकै मैतीदेवीलगायत कतिपय मन्दिरका पुजारी ब्राह्मण छैनन् । धेरै छन् यस्ता उदाहरण । तिनै हुन् सांस्कृतिक र धार्मिक सुधारका प्रमाण । लुकाउनु हुन्न यस्ता कुरा र फुकाउनुपर्छ कट्टरपन्थीले पारेका गाँठा र कुटुरा । नत्र हाम्रा बबुरालाई पिञ्जरामा हाल्दै सुगालाई झै रटाउँदै आफ्नै आस्था, आदर्श, संस्कार, सभ्यता र संस्कृतिका विरुद्ध खटाउने क्रम नरोकिने भयो । धर्म र संस्कृतिका मर्मज्ञहरूले सुधारका काममा पनि तीव्रता दिन थालेका छन्, स्वागतयोग्य छ त्यो ।
मोदनाथ प्रश्रित र विष्णु प्रभातहरूको टोलीले १३ दिनको मृत्यु संस्कारलाई सरलीकृत गर्नुभयो । कसैले पाँच र कसैले सात दिनमा टुङ्ग्याउन थालेका छन् यो संस्कार । तीन दिनमै सकेका खबर पनि आएका छन् । महिलाहरू आफैँ कपाल मुण्डन गरेर किरिया बस्न थालेको देखिन्छ । छोरै खोज्ने जमाना गइसक्यो । छोरी पनि छोरासरह भइसक्यो । समाजले चलाउने हो संस्कार र मान्छेका लागि हुन ती । संस्कारका लागि मान्छेले दुःख पाउने हैन, सामाजिक सुव्यवस्थाका लागि निर्मित हुन् ती । आवश्यकतानुसार बन्छन्, समयानुसार परिमार्जन पनि गरिन्छन्, हुन्छन् ।
समाज, सभ्यता, संस्कार, संस्कृति सुधारका लागि सरल र सहज छ हिन्दु धर्म । नमाने वा मान्दिन भने पनि कसैले ‘फतवा’ जारी गर्दैन, गर्न पनि पर्दैन । नगरे पनि गरेको हुने, गर्दा झन् राम्रो हुने परम्परा छ । नसक्नेका लागि कर छैन । मार्लान् भन्ने डर छैन, साह्रै उदार छ हिन्दु धर्म । समयानुकूल सुधार पनि हुँदै गएको छ, भविष्यमा पनि हुनेछ, हुन्छ ।
केरला (भारत)को सावरीमलै मन्दिरमा दुईजना महिला प्रवेश गरेपछि हिंसा भड्के पनि त्यहाँको सर्वोच्च अदालतले सहयोगै गरेको छ । नेपालमा त झुमा, देवकी र जीवित देवीको प्रथा पनि कायम छ । पहिले बाध्यताले निर्मित ती प्रथा अहिले बोझ भएपछि हट्दै र हटाइदै छन् आफैँ । जहाँ जस्तो आवश्यकता प¥यो, त्यहाँ त्यस्तै चलन चले, चलाए, अवशेष बाँकी छन् अद्यपि ।
कपिलवस्तुको सदरमुकाम तौलिहवाको आनन्दवागस्थित राधाकृष्ण मन्दिरमा महिला पुजारी छन् । चर्चित समाजसेवी हरिराज शर्मा अध्यक्ष रहेको उक्त मन्दिर पूर्वसचिव रविदेव शर्माको सत्प्रयासमा निर्माण भएको हो । वाचनशिरोमणि पं. नारायण पोख्रेल तौलिहवा आएर, २०५८ सालमा सप्ताह ज्ञान महायज्ञमा पुराण सुनाएपछि प्रभावित भएर भक्त बन्नुभएकी इन्द्रा थापा वैष्णव हुनुहुन्छ । ‘पुरुष पुजारीको ठेगान हुँदैन, इद्रा थापा (भक्तिनी) नभए काम चल्दैन’ भन्छन् वरिपरिका बासिन्दा पनि ।
नेपालगञ्जमा त झन् तीन पुस्तासम्म महिला पुजारी रहेको मन्दिर रहेछ । यस्ता उदाहरण अन्त पनि होलान् । खोजीनीति गर्ने, पिछडिएका परिवारलाई उठाउने, दबिएका कुरालाई सार्वजनीकरण गर्ने हो भने समाज सुध्रँदै जान्छ बिस्तारै । त्यसरी गर्न सकिन्छ धार्मिक र सांस्कृतिक सुधार र रोकिन्छ अत्याचार, हिंसा गर्न पर्दैन । कसैकाविरुद्ध वीष वमन नगरे पनि चल्छ । सुन्न र सहन चाहिँ पर्छ ।
यसको अर्थ शोषण र दमन कायम राख्न पर्छ भनेको हैन, नरम शैली अपनाउँदा पनि परिवर्तन हुन्छ भन्न खोजेको मात्रै हो । दया, करुणा, माया, प्रेम र अथक प्रयासले जित्न सकिन्छ, हुन्छ भनेको हो । गौतम बुद्ध र महात्मा गान्धीले भनेको पनि त्यही हो ।
विकल्पचाहिँ केही नदिने, हुन्न मात्र भनेर विदेशीको गुलाम बनाउने चलन धेरै दिन चल्दैन अब । आफ्नै पुर्खा र परम्पराको विरोध गर्नेहरूले नयाँ खोज गरेर सर्वस्वीकार्य परम्परा प्रस्तुत गर्नुपर्छ । झुक्क्याउनेलाई मुक्क्याउने छन् जनताले । सङ्घीयता र धर्मनिरपेक्षता धान्ने क्षमता विकास भइसकेको रहेनछ अझै । आदेशका भरमा लादेका कुरा चलाउन गाह्रो भएको छ । जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक, धार्मिक र भौगोलिक द्वन्द्वमा फसाउने र नेपाललाई धसाउने प्रपञ्चको पोल खुलिसक्यो । वैरीका षडयन्त्रका जालमा परेर उम्केका माछाले पनि अब बुझेका छन् ।
युनिभर्सल पीस फेडेरेसनले काठमाडौँमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उपलब्धि हो यो । जति जाल बिछाए, चाल चले, उति बुझे नेपाली जनताले पनि । विरोध पनि भयो मज्जैले । डलरले अब कलर नबदले पुरानै तरिकाले काम नचल्ने अवस्था तयार भएको छ । नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गरेर दक्षिण कोरियामा प्रदर्शित श्रव्यदृश्यको अनुवाद सामाजिक सञ्जालभरि छ्याप्छ्याप्ती भयो, केही लुकेन । सवै देखियो, उदाङ्गियो । डलरको धन्दा र फन्दामा फसेकाहरू पछुताएका छन्, प्रयश्चित गर्दैछन् । सुधारको शुरुवात हो यो पनि ।
(लेखक स्वतन्त्र पत्रकार हुनुहन्छ)


