नरेन्द्र ढकाल/गोरखा
असोज ४ गते । कालो हिरा भनेर चिनिने अलैंची खेति गर्नका लागि धान रोप्ने खेत समेत मासेका अजिकोटका किसानहरु अहिले चिन्तित हुन थालेका छन् । अलैंचीको उत्पादन वर्षेनी घट्दै गएको र बिक्रि मुल्य पनि निकै कम भएको उनीहरुको गुनासो छ । ‘सबै थोक छोडेर अलैंची खेति तिर लागियो’ अलैंची व्यवसायी समितिका सचिव समेत रहेका कृषक कृष्ण घिमिरेले भने ‘केही वर्ष राम्रै थियो ।’ पकेट क्षेत्र नै घोषणा गरी व्यवसायी अलैंची खेति सुरु गरेका अजिकोट गाउँपालिकाको हंसपुर, खरिबोट, काफलडाँडा, लप्सीबोत, सिम्जुङ, मुच्चोक लगायतका किसानहरु घट्यो उत्पादन र गिर्दो मुल्यका कारण चिन्तित हुन थालेका छन् । ‘अघिल्लो वर्ष करिब १५० टन जति उत्पादन भएको थियो’ उनले भने ‘यो वर्ष त्यत्ती छैन ।’
उत्पादन कम भएपनि यतिबेला सो क्षेत्रका किसानहरुलाई अहिले अलैची टिप्न भ्याइनभ्याई छ । असोज लागेसँगै सो क्षेत्रका किसानहरु अलैची टिप्ने, सुकाउने लगायतका काममा व्यस्त छन् । ‘सबै जना अलौची टिप्न मै व्यस्त हुनुहुन्छ’ उनले भने ‘वर्षभरी गरेको दुःख जति भएपनि टिप्नु त प¥यो ।’
केही वर्ष अघि किलोको २३ सय रुपयाँसम्म अलैची बेचेका किसानहरुले राम्रो भाउ नपाएपछि गत वर्ष ५÷६ सय रुपयाँमा बेच्नु परेको गुनासो गरेका छन् । अलैंची मुख्य बजार भारतमा आएको मुल्य गिरावटका कारणले मुख्यमा समस्या भएको किसानहरुको भनाई छ । ‘कुनै वर्ष किलोको २३ सय पनि अलैंची बेचियो, पोहोर÷परार बेच्नै गाह्रो भयो किलोको ५÷६ रुपयाँमा ठेकेदारलाई बुझाइयो’ घिमिरेले भने ‘यस वर्ष पनि राम्रो भाउ पाइएला जस्तो छैन् ।’ अलैंची टिप्ने मौसम सुरु भएसँगै खरिदका लागि ठेकेदारहरु पनि सो क्षेत्र पुग्ने क्रम सुरु भइसकेको छ । त्यहाँको अलैंचीलाई दानाको आकारका आधारमा ग्रेडिङ गरेर सोही अनुसारको मूल्य निर्धारण गरी बेचविखन गरिन्छ । उक्त प्रक्रिया गत वर्षबाट सुरु भएको हो । जसअनुसार गत वर्ष प्रतिकिलो ६००, ५००, ४०० रुपयाँमा अलैंची बेचिएको थियो ।
उक्त क्षेत्रमा अलैचीको नर्सरी पनि निर्माण गरि लाखौं विरुवा सार्नको लागी तयार भएपनि विरुवाको बजार नभएका कारण ब्याडमै सुकेर जान थालेको उनीहरुको भनाई छ । सो क्षेत्रमा मात्र ३० भन्दा बढि अलैंची कृषक समूह छन् । उत्पादित अलैंची तथा फललाई समूह मार्फत बेचबिखन गर्ने गरिएको छ ।
ढुसीजन्य रोगको प्रकोप, गबारो किराको समस्या, पुराना विरुवामा कम फल्ने लगायतका समस्याहरुका कारण उत्पादन घटेको कृषकको भनाई छ । देशभर गोरखाको अलैचीको माग बढेपछि धानरोप्ने खेत समेत मासेर खेति गर्न थालेका उनीहरु उत्पादन घटेपछि चिन्तित भएका हुन् । ‘रोग किराको समस्या पनि छ’ कृषि ज्ञानकेन्द्रका प्रमुख यामकुमार श्रेष्ठले भने ‘उत्पादन घट्नुको मुख्य कारण स्याहार सम्भारमा कमी हो ।’ कृषकले अलैंची खेति बिस्तार गरेपनि मलखाद र गोडमेलमा उचित ध्यान नदिदाँ उत्पादन घटेको उनको भनाई छ ।
अलैंची खेतिलाई स्थानीय सरकारले पनि उचित महत्व नदिएको किसानहरुको आरोप छ । कृषि कार्यालयले पकेट क्षेत्र घोषणा गरी कार्यक्रम अगाडी बढाईसके पनि गाउँपालिकाले बजेट नछुट्याउँदा किसानहरु अन्यौलमा परेका छन् । ‘स्थानीय सरकारले पनि प्राथमिकता दिन सकेको छैन, उत्पादन पनि घट्दो छ भाउ पनि घटिरहेको छ’ अलैंची व्यवसायी सघंका जिल्ला अध्यक्ष गोबिन्द गुरुङले भने ‘किसानहरुमा निराशा पैदा भएको छ ।’ स्थानीय तहले स्पष्ट योजना निर्माण गरी अलैंजी खेति प्रर्वद्धन गर्न जोड दिनु पर्ने उनको भनाई छ । अजिरकोट गाउँपालिकाले पनि अलैंची खेतिका लागि छुट्टै बजेट भने विनियोजन नभएको स्पष्ट पारेको छ । ‘अलैंचीका लागि छुट्टै वजेट त विनीयोजन गरेका छैनौं’ गाउँपालिका उपप्रमुख चन्द्रमायाँ गुरुङले भनिन् ‘कृषिमा प्रयाप्त रकम छुट्याएका छौं त्यसैबाट खर्च गर्ने योजना छ ।’ गाउँपालिकाले अब दोश्रो चौमासिक वजेट निर्माण गर्दा अलैंचीका खेतिको लागि रकम विनियोजन गर्ने उनको दाबी छ ।
अलैंचीको उत्पादन घट्दो, भाउ गिर्दो
अलैंचीको उत्पादन घट्दो, भाउ गिर्दो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



