- जाजरकाेटमा पहिराे
जाजरकोट — अविरल वर्षात्का कारण भेरी नगरपालिका–३, ठाँटीबजारमा आइतबार बिहान पहिरो खस्दा पुरिएका ७ जनाको शव निकालिएकाे छ । उक्त पहिरोमा २ जना अझै पुरिएका छन् । एक सय मिटर माथिबाट आएको पहिरोले स्थानीयका २ वटा घर पुरिएका थिए ।
पहिरोमा पुरिएकातीर्थराज बोहराकी छोरी ५ वर्षीय नज्मा बोहरा,२५ वर्षीय सितला लुहार, ६ वर्षीय सम्झना बिक, ३ वर्षीय मनिसा बिक, ९ वर्षीय भगवती बिककाे शव निकालिएकाे छ ।पहिरोमा पुरिएका ३५ बर्षीय लालबहादुर लुहारको डेढ घण्टा पछि जिवितै उद्धार गरिएको छ। उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ।
पहिरोले एकै परिवारका ४ जना र स्थानीय जीतबहादुर सुनारको घरमा बस्ने ४ जना बालक पुरिएका थिए।

१२ वर्षीय गोविन्द परियार, ६ वर्षीय दशरथ परियार, १२ वर्षीय नरेन्द्र परियार र १० वर्षीय नवीन परियार पुरिएका थिए। उनीहरु मध्ये २ जनाकाे शव भेटिएपनि सनाखत हुन सकेकाे छैन ।


पुरिएकाहरुको प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीय लगायतले उद्धार जारी राखेको निमित्त प्रजिअ खतिवडाले बताए। उक्त पहिरोको कारण ठाँटीबजार आसपासका १७ वटा घर जोखिममा रहेको उनले बताए।


जाजरकोटकाे भेरी नगरपालिका–३ ठाँटीबजारमा आइतबार बिहान गएको पहिरो। तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर।
kantipurdaily


