नरेन्द्र ढकाल/गोरखा
साउन ७ गते । भूकम्पले पूर्ण रुपमा ध्वस्त भएको पस्लाङ्ग अहिले पुरानै अवस्थामा फर्किदै छ । जिल्लाका अन्य गाउँमा जस्तै गोरखा नगरपालिका वडा नम्बर ५ पस्लाङ्गमा पनि धेरै घरहरु बनिसकेका छन् । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले २ जनाको ज्यान लिएको पस्लाङ्ग गाउँमा केही घर भने निर्माणाधिन अबस्थामा छन् ।
सदरमुकाम छेवैमा रहेको मगरहरुको सुन्दर बस्ती पस्लाङ्गमा भुकम्प अघि होमस्टे सञ्चालनमा थियो । घरहरु भत्किएर बन्द भएको पस्लाङ्ग होमस्टे नयाँ घर बने सँगै गत बैशाख १ गतेबाट पुनः सञ्चालनमा आएको छ । ‘भूकम्प पछाडी त हाम्रो बे्रक नै थियो, तर अहिले धेरै घरहरु बने अब फेरी सुरु गर्नु पर्छ भनेर बैशाख १ गतेबाट पाहुनाको संत्कार गर्न थालेकाहौं’ पस्लाङ्ग होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर राना मगरले भने ।
झण्डै ३० घर रहेको पस्लाङ्गका १२ घरमा अहिले पुनःहोमस्टे सुरु भइसके को छ । गाउँको पुछारमा साझा सुबिधा केन्द्र नामक भवन बनाइएको छ । जब होमस्टेमा बस्न पाहुना पस्लाङ्ग पुग्छन्, त्यहीँ पहिलो स्वागत गरिन्छ । त्यस पछि होमस्टे व्यवस्थापन समितिले कसको घरमा पाहुना राख्ने भन्ने छिनो फानो लगाउँछ । ‘कति जना आउनु भएको छ, कस्तो समूह छ, कहाँ राख्दा उपयुक्त हुन्छ भनेर साथीहरु विच सल्लाह हुन्छ’ अध्यक्ष राना मगरले भन्ने ‘अनि उहाँहरु लाई घर घर लगेर पुनः स्वागत गरिन्छ ।’
उक्त होमस्टेमा बस्नको लागि एक रातमा एक जनाले सात सय रुपयाँ मात्र तिरे पुग्छ । प्रतिव्यक्ति सात सय रुपयाँ तिरे पछि जाने बित्तिकै स्वागत संस्कार सहित स्थानीय मकै भट्टमासको खाजा, बेलुका मासु सहितको खाना, रातीको बास र विहान कोदो को वा मकैको रोटी खाजा खुवाइन्छ ।
रसायिनिक औषधी एवं मलको प्रयोग नगरी स्थानीय स्तरमा उत्पादन भएका तरकारी र फलफुलले पाहुनाको संत्कार गर्ने गरेको होमस्टे सञ्चालकहरु बताउँछन् । ‘हामीले सधै जे खान्छौ त्यही खुवाउछौ, आफ्नै बारीमा फलेका फलफूल, तरकारी र अन्नपात नै उहाँहरुलाई खुवाउने हो’ एक होमस्टे सञ्चालिका तिलकुमारी रानामगरले भनिन् ‘माछा मासु पनि सके सम्म लोकल नै खुवाउँछौ ।’ बैशाख १ गते बाट फेरी सञ्चालनमा आएको होम स्टेमा ६० जना विदेशी पाहुनहरु आतिथ्यता पाइसकेका छन् ।
नेपाल राज्यको उद्गम स्थल गोरखाबजारको काखमा रहेको पस्लाङ्गको आफ्नै मौलिक परम्परा र संस्कृति छ । जिल्ला सदरमुकाम बाट झण्डै आधा घण्टै पैदल दुरीमा रहेको पस्लाङ्ग गाउँ सम्म मोटर बाटो पुगेको छ । ‘बजारबाट टाढा पनि छैन, गाउँ सम्म मोटरबाट आएको छ, हिडेर आउनुभयो भने पनि निकै रमणीय ठाउँको अबलोकन गर्दै आउन पाउनु हुनेछ’ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष रानामगरले भने । पस्लाङ्गबाट उत्तरी पश्चिम क्षेत्रमा रहेका विभिन्न हिम श्रखलाका साथ मनारोम दृष्यहरु समेत देख्न सकिने स्थानीयहरु बताउँछन् ।
होमस्टेमाआएका पाहुनाहरुको चाहना अनुसार स्थानीयकला सस्कृति झल्कने विभिन्न खालका सास्कृतिक कार्यक्रम पनि गर्ने परम्परा छ । मगर समुदायको परम्परागत जिवन शैली र सस्कृतिलाई प्रर्वधन पनि होमस्टे सञ्चालनमा ल्याइएको स्थानीय खिलबहादुर राना मगरले बताए । ‘यो व्यापार होइन्, हाम्रो मौलिक सस्कृति र पहिचानलाई बचाउँदै पाहुनाको स्वागत गर्ने परम्परा हो’ उनले भने ‘एक पटक आएर हेर्न जो सुकैले पनि न्यानो मायाँ र संत्कार लिएर फर्कन पाउनुहुनेछ ।’
जिल्ला सदरमुकाम नजिकै रहे पनि आवश्यक प्रचार पसारको अभावमा पस्लाङ्ग होमस्टे अझै ओझेलमा परेको धेरैको भनाई छ ।



