नरेन्द्र ढकाल/गोरखा
जेष्ठ २ गते । केही दिन भित्र बुढीगण्डकी डुबान क्षेत्रका एक हजार भन्दा बढि प्रभावितले मुआब्जा पाउने भएका छन् । चालु आर्थिक वर्षमा प्राप्त ५ अर्ब रकम मध्ये पहिलो चरणमा फुजेलका ७०२ प्रभावितलाई मुआब्जा दिएको आयोजनाले दोश्रो चरण १०७६ प्रभावितलाई मुआब्जा दिने तयारी गरेका छ । ‘एकै पटक ठूलो संख्यामा प्रभावितहरुले मुआब्जा पाउँदै हुनुहुन्छ, हामी प्रकृयाको अन्तिम चरण छौ’ बुढीगण्डकी आयोजनाको वातावरण मुआब्जा वितरण पुर्नबास तथा पुनस्थापना इकाई संयोजक कृष्ण कार्कीले भने ।
जसअन्तर्गत केही दिन अघि ४१२ जना र मंगलबार ६६४ प्रभावितका दाखिला खारेजको लागि जिल्ला मुआब्जा समितिले निर्णय गरी मालपोत कार्यालय पठाईएको छ । ‘हामीले निर्णय गरी मालपोत पठाएका छौं, त्यहाँ साथीहरुले काम सकेर हामीलाई पेश गर्नुहुन्छ अनि बैङ्कमा पैसा जान्छ’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने ।
बुंकोट, नाम्जुङ, दबुङ्र्ग र बाँकी रहेका फुजेलका गरी ६ सय ६४ प्रभावितका खातामा रकम पठाउने तयारी गरिएको हो । मंगलबार निर्णय भएका प्रभावितको खातामा रकम पठाउँदा मात्र झण्डै २ अर्ब रकम लाग्ने आयोजनाको इकाई कार्यालयले जानकारी दिएको छ । त्यसैगरी केही दिन अघि निर्णय भएको ४१२ प्रभावितका लागि १ अर्ब भन्दा बढि रकम लाग्ने अनुमान छ । यस आर्थिक वर्षमा गोरखा तर्फको मुआब्जा वितरणका लागि ५ अर्ब रकम निकासा आएको थियो ।
जसमध्ये फुजेलका ७०२ प्रभावितको खातामा रकम पठाउँदा डेढ अर्ब भन्दा बढि रकम खर्च भइसकेको छ । ‘अघिल्लो पटक निर्णय भएकाहरुको काम केही दिन भित्र भ्याइन्छ भनेर मालपोतका साथीहरुले भन्नुभएको छ, आज निर्णय भएको त केही दिन लाग्ला’ इकाईका कार्यालयका संयोजक कार्कीले भने । मालपोत कार्यालयले भने दोश्रो चरणमा मंगलबार निर्णय भई दाखिला खारेजका लागि मालतपोत आएको एक हप्तामा काम सक्ने मालपोत अधिकृत देबेन्द्र थापाले बताए ।
मुआब्जा वितरण गरिएको क्षेत्रमा पनि हाल सम्म जग्गाको मात्र मुआब्जा बाडिएको छ । यसै आर्थिक वर्षमा घर, गोठ र बोटबिरुवाको पनि मुआब्जा वितरणको सुरुवात गर्ने कार्यालयका संयोजक कार्कीको भनाई छ । ‘यस आर्थिक वर्षमा सुरुवात गर्ने भन्ने तयारी गरिरहेका छौं, घ्याल्चोकको तल्लो भागबाट सुरु गर्ने की भन्ने सोच छ’ उनले भने । मुआब्जा वितरण सँगै पुनस्थापनाको काम थाल्ने बारेमा पनि आयोजनाले काम सुरु गरेको दाबी गरेको छ ।
तोकिएको ठाउँको मुआब्जा त वितरण भइरेहेका छ तर बाँकी ठाउँको कहिले तोकिन्छ त भन्ने गोरखा समाचारको जिज्ञासामा संयोजक कार्की भन्छन् ‘अध्यायन समितिले प्रतिवेदन बुझाइसेको छ, अब त्यो बारेमा पनि निर्णय हुन्छ ।’ अधिकाशं ठाउँमा गुठीको रुपमा रहेका जग्गाहरुको मुआब्जा रोकिएकाले उक्त जग्गालाई रैकर गरी मुआब्जा दिने बारेमा सरकारसँग आवश्यक छलपपल भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।
गोरखा र धादिङका गरी साबिकका २७ गाबिसको मुआब्जा तोकिए पनि हाल सम्म ६ गाबिसमा मात्र मुआब्जा रकम वितरण भएको छ । गोरखाको घ्याल्चोक, भुम्लीचोक,दबुङ्र्ग र धादिङको सलाङ, मैदी र खरी पहिलो चरणमा मुआब्जा वितरण गरिएको हो । डुबान क्षेत्रकै आरुघाट बजार र खहेरको मुआब्जा भने हाल सम्म तोकिएको छैन् ।
जिल्ला प्रशासन कार्यलय गोरखाले डुबानक्षेत्रको जग्गालाई ११ भागमा वर्गिकरण गरी प्रतिरोपनी कम्तीमा पाँच लाख २५ हजार देखि बढीमा आठ लाख ३५ हजार रुपैयाँ मुआब्जा दिने निर्णय गरेको छ । गोरखा र धादिङको विच भागमा बन्ने बहुचर्चित १२ सय मेगावटको बुढिगण्डकी जलबिद्युत आयोजनाको लागि जग्गा अधिग्रहण गर्दा ३ हजार ५ सय ६० घरधुरी विस्तापित हुने जनाईएको छ ।



