गोरखा समाचारदाता
बैशाख २१ गते । भूकम्प पछिको तेश्रो वर्खा नजिकिदै गर्दा पुनःनिर्माणको कामले तिब्रता लिएको छ । बिहीबार एकै दिन २७ सय भन्दा बढिको दोश्रो किस्ता सिफारिस भएको जिल्ला समन्वय समितिका लेखा अधिकृत दिपेन्द्र अर्यालले जानकारी दिए । सोही अनुपातमा तेश्रो किस्ता लिनेहरु पनि बढेको उनको भनाई छ । ‘आज मात्रै २७ सयको खातामा रकम निकासा गर्न कोलेनिका पठाएका छौ’ उनले भने ।
६१ हजार ३ सय १६ लाभग्राही रहेको गोरखामा हाल सम्म ५२ हजार ४ सय ४८ घर निर्माधिन रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेवसाईडमा उल्लेख गरिएको छ । ति मध्ये ४५ हजार ९०२ घर दोश्रो किस्ताको लागि सिफारिस भएका छन भने ४४ हजार ५ सय ६९ घरधुरीको खातामा रकम पठाइसकेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
हाल सम्म २० हजार १ सय २२ घर निर्माण सम्पन्न भइसकेको छ । घर निर्माण कार्य सम्पन्न गरी तेश्रो किस्ताका लागि २० हजार ५ सय २० घर धुरी सिफारिस भएको र १९ हजार ५ सय ८९ लाभग्राहीको खातामा तेश्रो किस्ता समेत गइसकेको छ । यस आर्थिक वर्ष भित्र पुनःनिर्माणको काम झण्डै ८० प्रतिशत सम्पन्न हुने जिल्ला समन्वय अधिकारी नारायण आर्चायले बताए ।
‘यो प्रगती हेर्दा यो वर्ष पुनःनिर्माण धेरै काम सकिने देखिन्छ, दोश्रो किस्ताको अनुपातमा तेश्रो अझै जान सकेको छैनन्, त्यो पनि केही दिन बढ्ला ।’वर्खा अगाडी धेरै घर बनाईसक्ने सरोकारवालाको विश्वास छ ।
तर भुमिहिन, बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँका पिडित, लाभग्राहीको सूचिमा नाम समाबेश नभएकाहरु भने अझै अन्यौलमा छन् ।


