कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २० गते । मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवश । आजको दिन विश्वभर २५औँ प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । यसै बिच गोरखामा पनि पत्रकार महासंघ गोरखा शाखाको आयोजनामा प्रेस स्वतन्त्रता दिवशका अवशरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेपछि युनेस्कोले हरेक वर्ष मे ३ का दिन विश्वभर यो दिवस मनाउँदै आएको छ । नेपालमा भने यो दिवस सन् १९९६ देखि मनाउन थालिएको हो । यस वर्षको प्रेस दिवसको अन्तर्राष्ट्रिय नारा ‘शक्तिको निगरानी : सञ्चारमाध्यम, न्याय र विधिको शासन’ भन्ने रहेको छ ।

दिवशको अवशरमा गोरखा सदरमुकामको हरमटारी देखी बसपार्क सम्म प्रभात फेरी गरीएको थियो । प्रभातफेरीमा पत्रकारका साथै मानव अधिकारकर्मीको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसकै सन्दर्भमा नेपाल पत्रकार महासङ्घले जारी गरेको शुभकामना सन्देशमा यस वर्ष सम्पन्न तीन तहको निर्वाचनको सन्दर्भमा राज्यपक्षबाट नै प्रेस स्वतन्त्रता हननका घटना बढी भएको टिप्पणी गरेको छ ।

महासङ्घले २०१७ मे ४ देखि २०१८ मे २ सम्म नेपालमा प्रेस स्वतन्त्रता हननका ६२ घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ । यस्ता घटनामा सबैभन्दा बढी पत्रकारमाथि धम्की र दुव्र्यवहारका १९ घटना भएका छन् भने भौतिक आक्रमणका १७ वटा घटना र पत्रकार पक्राउका १६ वटा घटना भएको उल्लेख गरेको छ । महासङ्घले प्रेस स्वतन्त्रता हननविरुद्धका दण्डहीनता र ‘सेल्फ सेन्सरसिप’ कायमै रहेको जनाएको छ ।
महासङ्घले प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभई समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको उल्लेख गरेको छ । महासङ्घको शुभकामना सन्देशमा प्रेस आफैँ पनि मर्यादित हुनुपर्ने र राज्यले पनि स्वनियमको माध्यमबाट यसलाई संरक्षण, सम्बद्र्धन एवं विकासका निम्ति नीतिगत, कानुनी र संरचनागत सुदृढीकरणका लागि काम गर्नुपर्ने बताइएको छ ।

महासङ्घले राष्ट्रिय आमसञ्चार नीति २०७३ को कार्यान्वयन एवं सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि नेपाल सरकारसँग माग पनि गरेको छ ।


