गोरखा समाचारदाता
भिमसेन गाउँपालिका वडा नम्बर ७ बोर्लाङ्ग की अम्बिका राना सुनौलो सपना सझाएर जिवन बिताउँदै थिइन् । रोजगारका लागि साउदी अरब पुगेका श्रीमानले पैसा कमाएर ल्याउलान् अनि सुखका साथ जिवन काटौंला भन्ने आशमा बसेकी अम्बिका अहिले उल्टो श्रीमान् देश फिर्ता गराउन सहयोग जुटाउँदै हिडेकी छिन् । ‘पुस २४ गते देखि काठमाण्डौ धाउन थालेकी छु, राष्ट्रपती कार्यालय, परराष्ट्र मन्त्रालय पुग्नुपर्ने ठाउँ पुगी सके कसैले मेरा कुरा सुन्दैन’ जिल्ला सरमुकाममा आयोजित पत्रकार भेटघाटमा डाको छोडेर रुँदै अम्बिकाले भनिन् ।
बैदेशिक रोजगारीको शिलशिलामा २०७२ सालमा साउदी गएका उनका श्रीमान कुमार रानामगरलाई गैरकानूनी रुपमा गाडी चलाएको भन्दै साउदी सरकारले जेल सजाय दिइरहको छ । उनले चलाएको गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकलाई क्षतिपूर्ति बापत तिर्नुपर्ने ८३ लाख नेपाली रुपयाँ उपलब्ध गराउन नसक्दा कुमार आजिबन कारबासको सजाय भोग्न बाध्य भएका हुन् ।
‘शुरुमा साहूले नै मिलाइदिने कुरा गरेको थियो, त्यसैले हामी सबै ढुक्क थियौ, तर पछि प्रहरीले उहाँलाई जेलमा लगेपछि साहूले केही सहयोग गरेन’ अम्बिकाले दुखेसो गरिन् । घाइतेले अदालतमा मुद्दा दायर गर्दै उपचार खर्चका साथै २ लाख ९४ हजार रियाल अर्थात् करिब ८३ लाख नेपाली रुपैयाँ माग गरेपछि कुमार ८ महिना अघि जेल चलान भएका हुन् ।
साउदी प्रहरीले असोजको ११ गते उनलाई प्रक्राउ गरी हरासतमा राखिएको थियो । त्यसपछि त्यहाँको अदालतले कुमारलाई दोषि ठहर गर्दै गत माघ पहिलो हप्ता साउदीको अफिफ सेन्ट्रल जेल चलान गरेको हो । घाईते पक्षलाई क्षतिपुर्ति रकम नतिरे सम्म कुमारको रिहाई हुन नसक्ने साउदी अरब स्थित नेपाली दूतावासले बताएको भन्दै अहिले उनकी श्रीमती अम्बिका, परिवारका सदस्य र साथीहरु सहयोग संकलनका लागि जुटेका छन् ।
व्यक्तिगत श्रम स्वीकृतिमा साउदी अरबको खालिद एसअल कम्पनीमा हेल्पर पदमा काम गर्न गएका कुमार हेभी गाडी चलाउँदै आएका थिए । बि.स. २०७४ चैत १२ गते कुमारले चलाएको गाडीसँग ठोकिदा साउदी नागरिक खालिद अल आताइदी घाइते भएका थिए । उक्त दुर्घटनामा घाइते भएका साउदी नागरिक ओताइवीले क्षतिपूर्ति रकम माग गर्दै २०१६ को डिसेम्बर १९ मा साउदी अदालतमा मुद्दा दायर गरेका थिए ।
साउदीको अफिफ जनरल कोर्टले प्राइभेट राइट अन्तर्गत कुमारले घाइते साउदी नागरिकलाई २ लाख ९४ हजार रुपैयाँ दिनुपर्ने फैसला सन् २०१७ को अप्रिल १७ तारेखमा सुनाएको थियो । अदालतले क्षतिपूर्ति रकम भराउन आदेश दिएपछि नेपाल स्थित साउदी दुताबासले पनि अब अन्य बिकल्प नहुने भन्दै उनको उद्धारका लागि रकम बुझाउनै पर्ने भनी श्रीमती अम्बिकाका नाममा पत्र पठाएको थियो ।
यता कुमारले भने आफू ती व्यक्तिलाई ठक्कर नदिएको बरु रोकिराखेको गाडीमा उनी आएर ठोकिएको दाबी गर्दै आएका छन् । प्रहरीले भने निषेधित गाडी रोकेकाले घटना भएको भन्दै कुमारले नै क्षतिपूर्ति दिनुपर्ने प्रमाण पेश गरेको थियो ।
कुमारकोे उद्धारका लागि अहिले नेपालमा कुमार राना उद्धार अभियान शुरु गर्दै रकम संकलनका लागि समिति समेत गठन गरिएको छ । समितिले हाल सम्म १ लाख ५० हजार रुपैया सहयोग संकलन गरेको समितिका संयोजक कृष्ण प्रसाद ढकालले जानकारी जानकारी दिए । ‘उहालाई त्यत्तिकै साउदी जेलमा सड्न दिनुभएन भनेर हामीले सहयोग अभियान थालेका हौ’ उनले भने ‘हाम्रो थोरै सहयोगले एउटा व्यक्तिको जिवन जोगिन्छ भने किन नगर्ने ?’
कुमारको उद्धारका लागि बैक खाता खोलेर अभियान शुरु गरेको गरिएको छ । सहयोगका लागि प्रभु बैकको खाता नम्बर ०३९०१००१००६५६९०००००१ मा रकम जम्मा गरिदिन सबैमा अपिल गरिएको छ ।


