शब्द नरेन्द्र ढकाल
निर्माधिन मनकामना मन्दिरमा सुनको गजुर राखिएको छ । नेपाल कै ऐतिहासिक उक्त मन्दिर पुर्ननिर्माणका क्रममा सोमबार शुभ साइत जुराएर गजुर राखिएको मन्दिरका मुख्य पुजारी इन्सान थापाले जानकारी दिए । ‘बिहान ९ बजे बिधिवत रुपमा क्षमा पुजा गरेर मन्दिरमा गजुर राखियो’ पुजारी थापाले भने ‘पुर्व पुजा गरेर गजुर राख्ने हामी विच सहमती भएको थियो, सोही अनुरुप गरेका हौं ।’

पुरानो गजुरलाई मर्मत गरी सुनको जलप लगाएर पुनः नयाँ मन्दिरमा राखिएको हो । गजुर निर्माणका लागि झण्डै ३५ तोला सुन खर्च गरिएको मन्दिर जिर्णोद्धार समितिले जानकारी दिएको छ । ‘गजुरमा पहिलै नै सुनको जलप लगाइएको रहेछ, फेरी ३५-४० तोला सुन खर्च गरी पुनः लगाएका हौ’ मन्दिर जिर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भने ।

गजुर मर्मतका लागि मात्र झण्डै ४० लाख खर्च भएको उनले बताए । ‘कति खर्च भयो भन्ने कुरा त एकिन हुन बाँकी छ, गजुरका लागि मात्र मोटामोटी अहिले सम्म ४० लाख भन्दा बढि खर्च भएको हाम्रो अनुमान छ’ श्रेष्ठले भने ।
गजुर राखिएसँगै मन्दिर पुर्ननिर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत भन्दा बढि काम सकिएको छ । मन्दिरको माथिल्लो तलाको छाना समेत निर्माण भइसकेको छ । तामाको पातामा सुनको जलप लगाएर छाना छाइएको हो । ‘अब तल्लो तलाको काम पनि सुरु गर्छौ, तामाको पातामा सुनको जलप लगाएर तयारी अबस्थामा राखिएको छ’ अध्यक्ष श्रेष्ठले भने ।
सुरुमा ८ किलो सुनबाट काम सुरु गएको भएपनि अहिले सम्म १२ किलो खर्च भइसेको छ । अन्तिम अवस्थामा सम्म झण्डै १८ किलो सम्म सुन खर्च हुने जिर्णोद्धार समितिको अनुमान छ ।
नेपाल सरकारको बजेट, भक्तजन मार्फत उठेको रकम र स्थानीय सहयोगमा उक्त मन्दिर निर्माण गरिएको हो । ‘पहिले भएको लगत स्टेटमेन्ट अनुसार धेरै खर्च बढेको छ, अब काम पनि अन्तिम चरणमा पुगेकाले सबै रिर्पोट आउँछ अनि कति लागत लाग्यो सबै सार्वजानिक गर्छौ’ श्रेष्ठले भने ।

नाकाबन्दी, काठ अभाव लगाएतका विभिन्न कारणले तोकिएको समय भन्दा केही ढिला भएको मन्दिर पुननिर्माणको काम आगामी दशै अघि सम्पन्न गर्ने योजना छ ।
‘कहिले सकिन्छ भनेर अहिले नै भन्न सक्ने अबस्था छैन, आगामी दशैमा भक्तजनले मन्दिर भित्रै गएर दर्शन गर्न पाउनुहुन्छ’ मन्दिरका मुख्य पुजारी थापाले भने ।

अधिकाश काम अन्तिम चरणमा पुगेकाले अब छाना छाउनुका साथै सरसफाई र सजावटको काम पनि केही दिनमा सुरु हुने पुजारी थापा मगरले जानकारी दिए ।
१५ करोड लागत अनुमान गरिएको उक्त मन्दिर जगै देखि भत्काएर पुर्ननिर्माण गरिएको हो । लामो इतिहास बोकेको उक्त मन्दिर केही वर्ष यता जिर्णोद्धार गर्नुपर्ने चर्चा चलेको थियो ।

२०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्प मन्दिर दक्षिण पश्चिम ढल्किए पछि जगै बाट भत्किाएर पुनर्निमाण थालिएको हो ।

तस्बिर कैलासबावु श्रेष्ठ



