गोरखा समाचारदाता
नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा १५ औं सवालाख रोट महोत्सव शुरु भएको छ । २०६१ साल देखि हरेक वर्ष देखि निरन्तर सवालाख रोट महोत्सव गर्दैै आएको सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा महोत्सव शुरु भएको हो । ‘गुरु गोरखनाथलाईको आशिषले नेपाल र नेपाली राम्रो होस, देशमा शान्ति अमनचयन होस् भन्ने कामनाका साथ हरेक वर्ष हामीले महोत्सव गर्दै आइरहेका छौं’ सिद्धाश्रम शक्ति केन्द्रका संयोजक रामजी अर्यालले भने ‘यस वर्ष पनि हामी सवालाख रोट चढाएर गुरुलाई खुशि बनाउन प्रयत्न गछौं ।’ २७ गते सम्म चल्ने महोत्सवको सोमबार शुभारम्भ गरिएको हो ।

गुरु गोरखनाथको रथ बोकेर बाजागाजा सहित निकालिएको शोभायात्रा गोरखानाथ गुफा सम्म लगिएको थियो । ‘हामी सबैका गुरु गोरखानाथ कृपा आर्शिद सबैलाई मिलोस् भनेर प्रार्थाना गरेका छौ, अबको ११ दिन सम्म पुजाआजा, हवन र भजन कृतन गरेर गुरुको महिमा पनि गाउने काम पनि हुन्छ’ सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले भने ।

गुरु गोरखनाथलाई सबै भन्दा मनपर्ने खाद्यबस्तु रोट चढाएपछि बाबा खुसि हुने र देशमा आउने बिख्नबाधा अन्त्य हुने धार्मिक बिश्वास छ । गोरखा र आसपासमा हरेक मौसममा नयाँ अन्नवाली भित्रयाउने बित्तिकै वर्षमा २ पटक मंसिर र साउनमा रोट पकाएर गुरु गोरखनाथलाई चढाएर मात्र खाने चलन छ ।

नयाँ अन्नको पिठोलाई घिउमा पकाएर रोट बनाई गोरखनाथलाई अपर्ण गरेर मात्र आफू खाने धार्मिक विश्वास स्थानियमा रहेको गोरखनाथ गुफाका पुजारी प्रदिपनाथ योगीले बताए । महोत्सवमा नेपालको विभिन्न जिल्ला सँगै छिमेकी राष्ट्र भारतबाट पनि ठुलो संख्या भक्तजनहरु आउने गर्छन् ।

सोमबार निकालिएको शोभायात्रामा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं प्रतिनिधि,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं जनप्रतिनिधी लगायत श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिती रहेको थियो ।

११ दिन सम्म चल्ने उक्त महोत्सवमा सहभागी भई सफल बनाइदिन आयोजकले सबैमा आग्रह गरेको छ ।

तस्बिर कैलासबावु श्रेष्ठ



