गोरखा समाचारदाता
२५६२ औ बुद्ध जयन्तीका अवसरमा नेपाल तथा विश्वभर विविध कार्यक्रम गरी मनाईएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, र मृत्यु वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् ।
इसापूर्व ५६३ मा नेपालको लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षका उमेरमा दरबारीय सुख सुविधा त्यागेर ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा उनले भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति गरेका थिए ।
बुद्धले ३६ वर्षका उमेरमा सारनाथमा उहाँले पहिलो पटक पाँच शिष्यलाई प्रवचन गरेका थिए जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ । राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि–प्रज्ञा, शील र समाधि) पर्छन् ।
यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् । बुद्ध जयन्तीको अवसरमा गोरखा सदरमुकाम सहित जिल्ला भर विभिन्न कार्यक्रमहरु गरिएको छ ।
यसैगरी आँबुखरेनीमा पनि विभिद्य कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ । गोरखा सदरमुकाम रहेको बौद्ध स्तुपामा पनि एक विशेष कार्यक्रम भएको छ । त्यसपूर्व जिल्ला सदरमुकामा रयाली समेत निकालिएको थियो ।


