गोरखा समाचारदाता
व्यापारीले भक्तजनलाई अनावश्यक दुःख दिएको गुनासो आएपछि मनकामना बजारमा राखिएको सिसिटिभी क्यामेरा बिहिबार उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य हरिराज अधिकारी एक कार्यक्रमका बिच सिसिभिभी क्यामेरा उद्घाटन गरेका हुन् । ‘मनकामना मन्दिर नेपालकै ऐतिहासिक मन्दिर हो, यहाँ लाखौं श्रद्धालुहरु आउँछन्, यसलाई व्यस्थित बनाउन आवश्यक छ’ सांसद अधिकारीले भने । मनकामनामाईको दर्शनका लागि आएका भक्तजनहरुलाई आफ्नो होटल, रेष्टुरेन्ट खाना खुवाउन, फोटो खिचाउन र अन्य उपहारका सामान किन्नका लागि बाटो छेक्ने, अनावश्यक प्रलोभन देखाएर जर्बजस्ती गर्ने जस्ता क्रियाकलाप बढेको गुनासो आएपछि उक्त कार्य गरिएको हो । ‘व्यापारका नाममा अलि बढि नै त्यस्ता गतिविधि भएको छ भन्ने गुनासो आयो, हामीले अध्ययन गर्दा पनि व्यथिति नै पाइयो, त्यसैले नियन्त्रणको प्रयास गरेका हौ’ शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले भने । केबुलकारबाट गेट देखि मन्दिर हुँदै प्रहरी चौकी सम्म गरी २८ ठाउँमा क्यामेरा जडान गरिएको छ । ‘प्रहरी कार्यालयमा त्यसको कन्ट्रोल हुन्छ, प्रहरीले नै निग्रानी गर्छ, जसले भक्तजनलाई त्यस्तो व्यवहार गर्छ उसलाई तुरुन्तै पक्राउ गरिन्छ’ थापाले भने ।
८ लाख ८४ हजार लागतमा उक्त क्यामेरा राखिएको हो । जसका लागि शहिद लखन गाउँपालिकाले ७ लाख र वडा कार्यलयबाट प्राप्त १ लाख ५ हजार रुपयाँ खर्च गरिएको छ । अपुग ७९ हजार रुपयाँ स्थानीय व्यापारी÷ व्यवसायीबाट उठाइएको उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका सचिव हरी श्रेष्ठले बताए ।
एकपटक मनकामना मन्दिर पुग्ने सबैलाई थाहा छ, व्यापार व्यवसायका लागि त्यहाँ के के हुन्छ भनेर । मनकामना खोलिएका अधिकाशं होटलमा ग्राहक तान्ने छुट्टै व्यक्ति राखिएका हुन्छन् । जब केबुलकारको गेटबाट मन्दिर तर्फ प्रवेश गर्न बित्तिकै केही युवाहरु भक्तजनको हात समात्न आइपुग्छन् । विभिन्न शैलीमा भट्याउदै उनीहरु त्यहाँ पुग्ने जो कसैलाई पनि हैरान पार्न पछि पर्दैनन् । होटलको विज्ञापन देखि फोटो खिचाउने, पुजा सामाग्री बिक्रि गर्ने र उपहारका सामाग्री किन्न भक्तजनालाई बाध्य बनाउनु नै उनीहरुको दिनचर्या हो ।
सिसिटिभि क्यामरा सञ्चालनलाई व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर २ को अध्यक्ष अचलबाबु थापा अध्यक्षता सांसद अधिकारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगर लगायतले मन्तव्य राखेका थिए ।




















