नरेन्द्र ढकाल/गोरखा
धार्चे गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रशारण लाइन पुग्ने भएको छ । लघु जलबिद्युतहरु मार्फत विद्युत उपभोग गर्दै आएका त्यहाँका स्थानीयलाई राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा पुरयाउने उर्जा मन्त्री वर्षमान पुनले घोषणा गरेका छन् । भूकम्प स्मृति दिवशको अवसरमा धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकमा आयोजित धार्चेको पर्यटन संभावना अवसर र चुनौती विषयक अन्र्तक्रिया तथा आरोही पार्कको शिलन्यास कार्यक्रममा बोल्दै उनले धार्चेका स्थानीयले राष्ट्रिय प्रशारणलाइन मार्फत भरपर्दो विद्युत सेवा उपभोग गर्न पाउने बताए ।
‘यहाँ राष्ट्रिय प्रशारण लाइन आई पुगेको छैन, जोड्नका लागि ठोस प्रस्ताव आयो मैले तोक लगाएर कार्यान्वयनका लागि विद्युत प्राधिकरणमा पठाइसकेको छु’ मन्त्री पुनले भने । छोटे खोला देखि माछा खोला सम्मको साडे ११ किलो मिटरको राष्ट्रिय प्रशारण लाईन निर्माणका लागि आवश्यक बजेटको प्रबन्ध पनि भइसकेको उनले बताए ।
हेलिकप्टर मार्फत लाप्राक पुगेका मन्त्री पुनले भूकम्पले क्षतविक्षत भएको लाप्राकमा एकिकृत बस्ती बिकास काम भइरहेको भन्दै छिटो सम्पन्न गर्न सरकारले एनआएनएलाई घचघच्याई रहेको समेत बताए । सोही अबसरमा उनले लाप्राकको टावरडाँडामा निर्माण गर्न लागिएको इमान पार्कको शिलन्यास समेत गरेका छन् । नेपाल पर्यटनबोर्ड, नेपाल पर्वत आरोहण सघं र गाउँपालिको लगानी उक्त पार्क निर्माण गर्न लागिएको हो ।
त्यसको लागि पर्वत आरोहण संघले ६ लाख र गाउँपालिकाले ४ लाख बजेट बिनियोजन गरेको वडा नम्मर ४ का अध्यक्ष राज गुरुङले बताए । पश्चिम क्षेत्रका पहिलो पर्वत आरोही समेत रहेका स्थानीय इमान गुरुङ सहित ८ जनाको मनाङको कंगारु हिमाल आरोहणको क्रममा निधन भएको हो । उक्त पार्कमा गुरुङ शालिक समेत निर्माण गरिनेछ ।
लाप्राक पुगेका मन्त्री पुनले एनआरएनएले निर्माण गरिएको एकिकृत बस्तीको समेत निरिक्षण गरेका थिए । उक्त कार्यक्रमको समापन गर्दै प्रदेश नम्बर ४ का भौतिक योजना मन्त्री रामशरण बस्नेतले उत्तरी गोरखा पर्यटकिय सम्भावनाले भरिपुर्ण भएपनि आवश्यक पुर्वाधार निर्माण गर्न नसक्दापछि परेको बताए । ‘अब हाम्रो ध्यान यहाँको पुर्वाधार विकासमा जान्छ, सडक, खानेपानी, अस्पताल लगायतका पुर्वाधारण निर्माण पछि यो क्षेत्र स्वर्ग बन्छ’ बस्नेतले भने ।


