नरेन्द्र ढकाल/गोरखा
बैशाख ११ गते । समतालाई ९ र १० कक्षा सञ्चालन तत्काल रोक्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको छ । जिल्ला शिक्षा अधिकारीको निर्देशनमा विद्यालयमा पुगेको प्रतिनिधि मण्डलले उक्त कक्षा सञ्चालन नगर्न नगराउन निर्देशन दिएको हो । ‘मैले उप सचिव भरतकाजी अर्याय र श्रोत व्यक्ति धुब्र अर्यालको टोली पठाएर अध्ययन गर्न लगाएको थिए, त्यहाँ बदमाशी नै देखियो’ जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवदीले भने ।
शैक्षिक सत्र २०७३ मा कक्षा ८ उत्र्तीण गरेका विद्यार्थीलाई बिना अनुमती गत शैक्षिक सत्रमा ९ कक्षा पढाएको भन्दै शिक्षा कार्यालयले रोक लगाएको हो । यता समता शिक्षा निकेतनले भने जिल्ला शिक्षा कार्यालयकै गैर जिम्मेवारीका कारण उक्त परिस्थिती आएको दाबी गरेको छ । सम्बन्धनका आवश्यक सबै प्रक्रिया पुरा गर्दा पनि जिल्ला शिक्षा कार्यालयले बे वास्ता गरेको समता शिक्षा निकेतनका प्रवन्धक दिपक सञ्जेलले बताए ।
‘हामीले सबै प्रक्रिया पुरयाएर समयमै जाँदा पनि उहाँहरुले स्वीकृति दिन आनाकानी गर्नुभएको छ’ उनले भने । समताले २०७३, पुस २८ गते पहिलो पटक र २०७४ पुस ६ गते दोश्रो पटक अनुमतीका लागि शिक्षा कार्यालयमा आवश्यक कागजात बुझाएको छ । २०७३ सालमा ३६४ र २०७४ मा ८९ नम्बरमा दर्ता गरेको प्रवन्धक सञ्जेलले बताए ।
आसपासका अन्य विद्यालयको प्रलोभनमा परेर जिल्ला शिक्षा कार्यालयले अनुमती नदिएको उनको आरोप छ । यसै विच शिक्षा अधिकारी सुवेदीले भने गत वर्ष अनुमती नै नमागेको अहिले आफूले स्वीकृती दिन नमिल्ने भएकोले उक्त फाईल गोरखा नगरपालिकामा पठाएको दाबी गरे । ‘उहाँहरुले गत वर्ष स्वीकृती नै माग्नु भएको थिएन, अहिले हामिले दिन सक्दैनौं, उहाँको फाइल नगरपालिकामा गएको छ ।
जिल्ला शिक्षा कार्यालयले गत वर्ष समताले अनुमती नै नमागेको बताइरहेका बेला समताका अधिकारीहरुले भने अनुमती मागेको सबै प्रमाण आफूहरुसँग सुरक्षित भएको दाबी गरेका छन् । जिल्ला शिक्षा कार्यालय र विद्यालयको जुहारीका कारण विद्यार्थी भने अन्यौलमा छन् । तर प्रवन्धक सञ्जेलले भने यदी गोरखामा स्वीकृती नपाएपनि निशुल्क रुपमा देशका जुन सुकै ठाउँ लगेर भएपनि विद्यार्थीलाई पढाउने आश्वासन दिएका छन् ।




















