गोरखा समाचारदाता
प्रदेश नम्बर ४ को नाम ‘गोरखा’ राख्न जिल्लाबासी सुझाव दिएका छन् । प्रदेशको राजधानी तथा नामङ्कन समितिले सुझाव संकलन जिल्ला सदरमुकामा गरेको कार्यक्रममा सहभागीहरुले प्रदेशको राजधानी पोखरा नै उपयुक्त हुने तर नाम भने गोरखा राख्नु पर्ने सुझाव दिए । ‘प्रदेश नम्बर ४ को नाम गोरखा हुनुपर्छ, यो देश विदेशमा पहिचान बोकेको नाम हो’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘यसैले सबैको भावना समेट्छ ।’ कार्यक्रममा धारणा राख्ने अधिकाशं व्यक्तिहरुले प्रदेशको नाम गोरखा नै राख्नुपर्ने तर्क गरे ।

पत्रकार महासंघ जिल्ला अध्यक्ष किशोरजंग थापा भन्छन् ‘गोरखा जति उपयुक्त नाम अरु हुन सक्दैन, गोरखाले नै नेपालको नाम संसारमा चिनाएको छ भने, प्रदेशको नाम नै गोरखा राख्न किन कन्जुस्याइँ गर्ने ?’ कार्यक्रममा सहभागी माओवादी केन्द्रका नेता कार्यकता र केही आदीबासी जनजातीका प्रतिनिधिहरुले भने आफ्नै तर्क गरेका छन् । माओवादी केन्द्रका जिल्ला संयोजक जगन्नाथ खनाल भन्छन् ‘सबैको भावना समेटर नाम राख्नुपर्छ, मेरा व्यक्तिगत विचारमा गोरखा अथवा गोरखा तमुवान उपर्युक्त हुन्छ ।’

नयाँ शक्तिपार्टी नेपालका केन्द्रिय परिषद् सदस्य एवं पूर्व सभासद ज्ञानेन्द्र कुमालले प्रदेशको नाम धेरै अल्झिन नहुने बताए । उनले पनि प्रदेशको नाम गोरखा नै अहिलेको उत्तम बिकल्प रहेको भन्दै नामले त्यति ठूलो तात्विक फरक नपर्ने दावी गरे । ‘अहिले जनताले नाम भन्दा पनि काम खोजिरहेका छन, नाम एक खालको सहमती गरेर अगाडी जान पर्छ । यसैगरी अधिबक्ता स्थानेश्वर दुवाडीले सुझाव संकलन देखावटी मात्र हुन सक्ने भन्दै साच्चैको सुझाव अनुसार निणर्य गर्ने भए यो प्रदेशको नाम गोरखा प्रदेश नै हुनु पर्नेमा जोड दिए । ‘यदी हाम्रो सुझाव संकलनका लागि आउनु भएको हो भने गोरखा भन्दा उपयुक्त अरु विकल्प हुँदैन, गोरर्खाली सबैले सर्ब सम्र्वत गोरखा नाम हुनुपर्ने मत दिएका छन भन्ने सुझाब पुरयाइदिनु होला’ दुवाडीले भने ।

कार्यक्रममा बोल्ने नेकपा माओबादी केन्द्रका केही प्रतिनिधिहरुले भने प्रदेशको नाम तमुबान प्रदेश हुनु पर्ने सुझाव दिएका छन् । उनिहरुले ४ नम्बर प्रदेश भित्र तामाङ समुदायको बाहुल्य रहेको र त्यहाँ गुरुङ मगर समुदायको पनि बाहुल्य रहेको प्रदेशको नाम तमुवान प्रदेश हुनु पर्ने सुझाव दिएका हुन् । तमुवान प्रदेश हुनु पर्ने सुझाब दिनेहरुमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य अंकुर तिमल्सीना, सपना सुवर्णकार लगायत रहेका छन् ।
सुझाव संकलन कार्यक्रममा प्रदेशको केन्द्र सम्बन्धमा भने अधिकांसको धारणा केन्द्र पोखरा नै उपयुक्त हुने सुझाव दिएका छन् । त्यस्तै केही ४ नम्बर प्रदेशको केन्द्र पालुङटार तथा डुम्रेलाई मिलाएर बनाउनु पर्ने बताएका छन् भने केही दमौलीलाई प्रदेशको केन्द्र तोक्नु पर्नेमा सुझाव दिएका छन् ।
कार्यक्रममा प्रदेशबाट सुझाव संकलन गर्न प्रदेश सांसद हरिशरण आर्चाय तथा सरिता गुरुङको टोली गोरखा आएको थियो । सुझाब संकलन कार्यक्रममा प्रदेश सांसद मनकुमारी गुरुङ, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका नेता तथा गाउँपालिका प्रमुख उपप्रमुख लगायतको सहभागिता रहेको थियो ।


