वैशाख ३, २०७५ नवलपरासी — व्यस्त महेन्द्र राजमार्गको दाउन्ने खण्डमा भाँसिएकाे सडक १० महिना सम्म मर्मत नहुँदा दिनहुँ सास्ती हुँदै अाएकाे छ ।
दाउन्ने पहाडको एस मोड नजिक गत असारमा भासिएको सडक अझै मर्मत नहुँदा घण्टाै जामले राजमार्गमा हैरानी भएको हो। पहाडी खण्ड दाउन्नेमा १४ किलोमिटर क्षेत्र साघुरो र घुमाउरो सडक छ।
गत असारमा एस मोडबाट एक किलोमिटर पुर्वमा २ सय मिटर सडक भासिएर त्यतिबेला ५ दिन यातायात अवरुद्ध भएको थियो।डाइभर्सन निमार्ण गरेर सुचारु गरिएको सडक मर्मत गर्न डिभिजन सडक कार्यालयले चासो देखाएको छैन। बर्षातका बेला बिग्रिएको सडक मर्मतमा चासो नदिदा दैनिक घण्टौ सडक जाम हुने गरेको छ।
बिग्रिएको सडकमा साघुरो र खाल्टा खुल्टी छन्। धुलो उडेर अगाडि पछाडिका गाडी नदेखिने भएकाले दुर्घटनाको जोखिम बढेको छ। सडक पार गर्न घण्टौंसम्म गाडीले पालो कुर्नु पर्ने बाध्यता छ।
पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले २ साताअघि जिल्ला विपद् ब्यबस्थापन समितिले तत्काल दाउन्नेमा बिग्रिएको सडक मर्मतका लागि डिभिजन सडक कार्यालय बुटवललाई पत्राचार गरेको बताए। टेलिफोनबाट सडक डिभिजन प्रमुखलाई पटक पटक ताकेता गर्दा जहिलेपनि टेण्डरको प्रकृयामा रहेको मौखिक जानकारी दिने तर काम नथाल्ने गरेको उनले बताए।मर्मतका लागि डिभिजन कार्यालय र मन्त्रालयमा पत्र पठाउने प्रजिअ मरासिनीले बताए।
पल्टिएको ट्रक नउठाउँदा घण्टौ जाम
दाउन्ने खण्डको दुम्किवास तर्फ ४ दिन अघि सडकमा पल्टिएको ट्रक नहटाउँदा घण्टौ जाम हुने गरेको छ।
ग्यास बोकेर आएको भारतीय २२ चक्के ट्रक दुम्किवास र घ्यूखोलाको नजिकमा पल्टिएको हो। उक्त गाडीले पुरै सडक ढाकेको छ।
आपतकालीन यातायात संचालनकालागि दक्षिणपट्टीबाट डाइभर्सन निर्माण गरिएपनि धुलोका कारण समस्या बढेको छ। सडकमा पल्टिएको गाडी हटाउन क्रेन र डोजरको खोजी भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
kantipurdaily


