नरेन्द्र ढकाल/गोरखा
नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा १५ औं सवालाख रोट महोत्सव हुने भएको छ । २०६१ साल देखि हरेक वर्ष निरन्तर सवालाख रोट महोत्सव गर्दैै आएको सिद्धाश्रम शक्ति केन्द्रले यस वर्ष बैशाख १७ गतेबाट महोत्सव गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘विगतमा जस्तै यस वर्ष पनि गुरु गोरखानाथलाई सवालाख रोट अर्पण गर्ने तयारी गरेका छौं’ सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले भने ।

११ दिन सम्म चल्ने महोत्सव बैशाख १७ गते पुर्णिमाको दिनबाट सुरु हुने केन्द्रले जनाएको छ । ‘गुरु गोरखनाथलाईको आशिषले नेपाल र नेपाली राम्रो होस, देशमा शान्ति अमनचयन होस् भन्ने कामनाका साथ हरेक वर्ष हामीले महोत्सव गर्दै आइरहेका छौं’ सिद्धाश्रम शक्ति केन्द्रका संयोजक रामजी अर्यालले भने ‘यस वर्ष पनि हामी सवा लाख रोट चढाएर गुरुलाई खुशि बनाउन प्रयत्न गछौं ।’

गुरु गोरखनाथलाई सबै भन्दा मनपर्ने खाद्यबस्तु रोट चढाएपछि बाबा खुसि हुने र देशमा आउने विघ्नबाधा अन्त्य हुने धार्मिक विश्वास छ । गोरखा र आसपासमा हरेक मौसममा नयाँ अन्नवाली भित्रयाउने वित्तिकै वर्षमा २ पटक मंसिर र साउनमा रोट पकाएर गुरु गोरखनाथलाई चढाएर मात्र खाने चलन छ ।
नयाँ अन्नको पिठोलाई घिउमा पकाएर रोट बनाई गोरखनाथलाई अपर्ण गरेर मात्र आफू खाने धार्मिक विश्वास स्थानियमा रहेको गोरखनाथ गुफाका पुजारी प्रदिपनाथ योगीले बताए । बैशाख १७ गते शोभायात्रा सहित गोरखा सदरमुकामको सिद्धाश्रम शक्ति केन्द्रबाट साधक साधिकको ¥याली निकालेर गुरु गोरखनाथको रथ बोकेर गुफा सम्म लगिने छ ।
११ दिन सम्म हरेक दिन रोट पकाएर गोरखानाथ बाबालाई चढाईने केन्द्रका जिल्ला संयोजक अकेलाले जानकारी दिए । ११ दिन सम्म चल्ने महोत्सवका लागि गोरखा आउने श्रद्धालु भक्तजनको आवास र खानाको प्रवन्ध समेत आयोजनकले मिलाएको छ । रोट महोत्सवमा हरेक दिन साधक साधिकहरु बाट धार्मिक प्रवचन तथा भजनकृतन समेत हुने केन्द्रका संयोजक अर्यालले बताए ।
महोत्सवमा नेपालको विभिन्न जिल्ला सँगै छिमेकी राष्ट्र भारतबाट पनि ठुलो संख्या भक्तजनहरु आउने गर्छन् ।


