कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ३० गते । उत्तरी गोरखामा भालुको नियन्त्रणका लागि विद्युतिय तारबार गरिने भएको छ । चुमनुब्री गाउँपालिका अन्र्तगत पर्ने साबिकको ल्हो गाबिसको भर्जन भन्ने स्थानमा विद्युतिय तारबार लगाउन लागिकएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए । ‘त्यहाँ भालुले निकै सतायो, अन्नबाली जोगाउन मुस्किल भयो भनेर किसानहरुबाट धेरै गुनासो आयो’ उनले भने ‘त्यसलाई नियन्त्रणका लागि तारबार गर्न लागिएका हो ।’ सो क्षेत्रमा कालो प्रजातीको भालुले वर्षेनी स्थानीयको खेतीपाती नष्ट गर्दै आएको छ ।
एमक्यापको अगुवाईमा भएको उक्त कार्यक्रममा चुम्रनुब्री गाउँपालिका र हरियो बन कार्यक्रमले आर्थिक सहयोग गरेका छन् । ‘तारबार लगाउनका लागि हरियो बन र चुमनुब्री गाउँपालिकाले सहयोग गरेको छ, हामीले समन्वय गर्ने काम गरेका छौ’ लामाले भने । १ दशमलब ५ किलोमिटर लामो उक्त तारबार लगाउनका लागि हरियो बन कार्यक्रमले ८ लाख बराबरको तार तथा अन्य बिद्युतीय सामाग्रीहरु उपलब्ध गराएको र गाउँपालिकाले बार बार्नका लागि आवश्यक पर्ने काठको खम्बा निर्माणका लागि २ लाख सहयोग गरेको छ ।
‘भालुले अन्नपात खाएर स्थानीयलाई हैरान पारेको थियो, हरियो बनले तार र बिद्युतीय सामाग्री दिन्छु भन्यो, हामीले खम्बा किन्न सहयोग गरेका हौ’ चुमनुब्री गाउँपालिकाका अध्यक्ष धन बहादुर गुरुङले भने । तारबार लगाउने कार्यमा स्थानीयको पनि श्रमदान रहेनछ । करिब १ हजार रोपनी क्षेत्रफलको जमिनमा बिद्युतिय तारबार निर्माण गरी करेन्ट प्रवाह गर्ने एमक्यापका प्रमुख लामाले बताए । ‘उक्त तारमा करेन्ट प्रवाह गरिन्छ, अन्नबाली खान आएको भालुलाई करेन्ट लागेपछि भित्र छिर्न सक्दैन’ उनले भने ।

यस अघि पनि सो क्षेत्रको दुई ठाउँमा उक्त प्रबिधि अनुसार तारबार लगाएपछि अहिले त्यहाँ भालुले सताउन छोडेको स्थानीयले बताएका छन् । तारबार लगाएर त्यहाँ पनि अन्नबाली जोगाउन सकिने विश्वास लिइएको छ । ‘यस अघि प्रोकगाउँ र नामरुङ्गमा करिब ५ किलो मिटर लामो तारबार गरिएको थियो, त्यहाँ अहिले भालुले सताउन छोडेको छ, त्यसैले यहाँ पनि तारबार गर्न लागेका हौ’ लामाले भने ।
उक्त बिद्युतिय तारबार निर्माणका लागि आवश्यक पर्ने सामाग्री समेत ल्हो पुगि सकेको लामाले बताए । केही दिनमा निर्माण कार्य सुरु गरी बैशाखको दोश्रो हप्ता सम्म सम्पन्न गर्ने तयारी छ । ‘आवश्यक समाग्री सबै आइपुगेको छ, अब केही दिनमा काम थाल्छौ’ उनले भने । उत्तरी गोरखा बिकट हिमाली क्षेत्रमा पर्छ । एक बाली मात्र फल्ने सो क्षेत्रमा गहुँ, जौ, फापर, मकै, आलु जस्ता खेतिपाती हुने गरेको छ ।
उत्पादित खाद्यन्नले ३ महिना पनि खान नपुग्ने त्यस माथि पनि भए जती सबै भालुले खाईदिए पछि स्थानीयहरु मर्कामा पर्ने गरेका छन् । सो क्षेत्र जिल्ला सदरमुकामबाट ५ दिनको पैदल दुरीमा पर्छ । सडकमार्गको पुहँच नभएका कारण त्यहाँ खच्चड एवं भरियाले ढुवानी गरेको खाद्यन्न समेत महंगो पर्ने भएकाले स्थानीयहरुले किनेर खान सक्ने अवस्था समेत छैन् ।
मनास्लु संरक्षण क्षेत्रमा पर्ने उक्त क्षेत्र भालु लगायतका जंगली जनवारले वर्षेनी अन्नबानी नष्ट गर्ने गरेको छ ।


