नरेन्द्र ढकाल/गोरखा
चैत्र ३० गते । सिरानचोक गाउँपालिकाको केन्द्र निर्धारण प्रस्ताव अस्वीकृत भएको छ । वडा नम्बर ३ का अध्यक्ष विर बहादुर थापाले केन्द्र निर्धारण गरियो भनि राखेको प्रस्ताव दुई तिहाई पुग्न नसकेपछि अस्वीकृत भएको हो । ४२ सदस्य रहेको गाउँसभामा २४ जनाले वडा नम्बर ५ छोप्राकको गाग्रेभञ्जाङ, ७ जनाले हाल अस्थायी केन्द्र रहेको छोप्राक मैदान, ६ जनाले छोप्राकको चोरकाटे र ५ जनाले वडा नम्बर २ को राम्चेका पक्षमा मतदान गरेको सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव गुरुङले जानकारी दिए ।
‘आजको सभामा केन्द्र निर्धारणको प्रस्ताव पेश भएको थियो, दुई तिहाई पुग्न सकेन अस्वीकृत भएको छ’ गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भने । स्थानीय तहको निर्वाचन भएको मितिले ६ महिना भित्र सामान्य बहुमतले केन्द्र र नाम परिर्वतन गर्न सकिने तर त्यसपछि निर्णय गर्नु परे दुई तिहाई बहुमत चाहिने कानूनी प्रावधान छ । बिहिबारको हिउँदे सभाले केन्द्र निर्धारणको प्रस्ताव पास गर्न नसके पनि अर्को बैठकमा प्रस्तुत गर्न भने सकिने छ ।
‘यसपटक निर्णय हुन नसके पनि अर्को सभामा फेरी प्रस्ताव लैजान्छौं, यो संसदिय प्रक्रिया हो’ अध्यक्ष गुरुङले भने । राज्य पुर्नसरचना आयोगको सिफारिसमा सरकारले प्रस्ताव गरेको वडा नम्बर ५ को ग्रागेभञ्जाङका पक्षमा सामान्य बहुमत देखिएको छ भने अन्य स्थानमा निकै थोरै मत खसेको छ ।
हिउँदे सभाले केही महत्वपुर्ण विद्येयकहरु भने पास गरेको छ । सामाजिक बिकास समितिका संयोजक दिपक हमालद्धारा प्रस्तुत शिक्षा विद्येयक २०७४, आर्थिक विकास समितिका संयोजक सन्तोष गुरुङद्धारा प्रस्तुत सहकारी विद्ययेक २०७४ र वडा नम्बर ६ का अध्यक्ष नारायणबाबु दानीद्धारा प्रस्तुत आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको विद्ययेक २०७४ सर्वसम्वत रुपमा पारित भएको हो ।
यसैगरी वडा नम्बर ८ का अध्यक्ष झटक प्रसाद दवाडीले न्याय समितिलाई पुर्णता दिन गरेको प्रस्ताव पनि सर्वसम्बत रुपमा पारित भएको छ । गाउँपालिका उपाध्यक्ष रिता देवकोटाको संयोजकत्वमा रहने न्यायिक समितिमा वडा नम्बर १ केराबारीकी सदस्य मनिता गुरुङ र वडा नम्बर ६ गाखुँका सदस्य नारायण प्रसाद बोहोरा सदस्यमा चयन भएका हुन ।
बिहिबार भएको हिउँदे गाउँसभामा गाउँपालिका उपाध्यक्ष देवकोटाद्धारा प्रस्तुत बजेट संशोधनको प्रस्ताव पनि पारित भएको प्रमुख प्रशासकिय अधिकृत शिव गुरुङले जानकारी दिए । उक्त प्रस्ताव विषयमा वडा नम्बर ४ अध्यक्ष दिपक हमाल, २ का सदस्य खुसिमान गुरुङ, ४ का सदस्य मोहनप्रकास पोखरेल आ–आफ्नो धारणा राखेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको विशेष आथित्यता रहेको हिउँदे विद्येयक सभा बिहिबार नै सकिएको छ ।




















