गोरखा समाचारदाता
गोरखा नगरपालिका वडा नम्बर १० छेबेटारमा जारी श्रीमद् भागवद महायज्ञमा कुल २४ लाख ५३ हजार १६७ रुपयाँ संकलन भएको छ ।
स्थानीय तारा माविको शैक्षिक उन्नयनका लागि गरिएको उक्त यज्ञको बिहीबार समापन समेत भएको छ । यज्ञको अन्तिम दिन झण्डै २ लाख संकलन भएको विद्यालयका लेखापाल प्रबिन खत्रीले बताए ।
महायज्ञमा कथा शिरोमणी दिपक प्रसाद पौडेलले बाचन गरेका थिए । ६५० विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा २५ जना शिक्षक छन् । महायज्ञको एक कार्यक्रमका विच बिहीबार प्रतिनिधि सभा सदस्य चुणामणी खड्काले समापन गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, कथाबाचक दिपक प्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक बाबुराम बिक लगायतले मन्तव्य राखेका थिए ।


