कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २२ गते । उत्तरी गोरखमा जाने विदेशी पर्यटकका पथपर्दशक (गाइड) र भरियाले अब कुपन प्रयोग गर्नुपर्ने भएको छ । मनास्लु पदमार्ग र चुमनुब्री उपत्यकामा रहेका होटलमा पर्यटक राख्ने क्रममा गाईड र भरियाले अस्वस्थ प्रतिस्पर्धा गरेपछि एकरुपता ल्याउन कुपनको व्यवस्था गर्न लागिएको हो । ‘होटलमा पर्यटक राख्न बार्गेलिङ भएको गुनासो आयो, त्यसलाई व्यवस्थित गर्न प्रयास थालेका छौ’ मनास्लु संरक्षण क्षेत्र आयोजना (एम् क्याप) का प्रमुख नरेन्द्र लामाले भने ।
सो क्षेत्रमा जाने विदेशी पर्यटकका पथप्रर्दशक र भरियाले होटलमा उनीहरुलाई राख्दा मोलमोलाही गरेर व्यवसायीसँग कमिनसन समेत मागेको गुनासो आएपछि व्यवसायीको पहलमा उक्त कदम चालिएको हो । ‘पहिले देखि गाइड र भरियालाई निशुल्क रुपमा खाना खुवाउने चलन रहेछ, त्यसैलाई आधार बनाएर अहिले वेथिति भयो भन्ने कुरा आयो र हामीले नियन्त्रण गर्न लागेको हौं’ उनले भने ।
गाइड र भरिया मिलेर जसले उनीहरुलाई निशुल्क खाना वस्नको व्यवस्था गर्छ र केही कमिसन पनि दिन्छ उसैकहाँ पर्यटक राख्न लैजाने गरेपछि होटल व्यवसायीहरु विच अस्वस्थ प्रतिस्पर्धा मौलाएको हो । उक्त समस्याका कारण आजित भएका होटल व्यवसायीहरुले सिर्दिबासको फिलिममा बैठक गरी मनास्लु पदमार्गमा रहेका सबै होटलमा एकै नियम लगाउन सहमत भएका हुन् ।
नयाँ नियम अनुसार सो क्षेत्रमा जाने विदेशी पर्यटकका गाइड र भरियाले सिर्दिबासको जगतमा राखिएको काउन्टरबाट एउटा कुपन लिनुपर्ने हुन्छ । ‘जब उहाँहरु मनास्लु क्षेत्रमा इन्ट्रि गर्नुहुन्छ, अनि त्यहाँ व्यवसायीहरुले राखेको काउन्टरबाट कुपन लिनुपर्छ, त्यही कुपनका आधारमा खाने बस्ने व्यवस्था मिलाइएको छ’ लामाले भने ।
गाइड र भरियाले उक्त काउन्टरमा आफु कति दिन बस्ने र के खाने हो सोही अनुसार पैसा तिरेर कुपन लगेपछि मनास्लु क्षेत्रका जुन कुनै होटलमा खान बस्न पाउने व्यवस्था मिलाइएको छ । पर्यटकका लागि भने यो नियम लागु नहुने उनीहरुले स्पष्ट पारेका छन् । ‘पर्यटकका लागि यो नियम बनाइएको होइन, उहाँहरु भने स्वतन्त्र हुनुहुन्छ, चाहेको ठाउँमा खान बस्न सक्नु हुन्छ’ एक होटल सञ्चालकले भने ।
अनिवार्य कुपन व्यवस्था लागु गरेपछि हरेक वर्ष २ करोड ८० लाख रुपयाँ फाइदा हुने होटल व्यवसायीको भनाई छ । प्रतिवर्ष करिब ७ हजार विदेशी पर्यटकले मनास्लु र चुमनुब्री उपत्यकाको अवलोकन गर्नेे र सोही मात्रामा भरिया र गाइड पनि उनीहरुसँगै जाने गरेको एमक्यापको तथ्याङ्क छ ।
सो क्षेत्रमा जाने गाइड र भरिया लागि प्रतिव्यक्ति २ लाख भन्दा बढि खाना र आवासमा खर्च हुने तर उनीहरुलाई निशुल्क राख्नुपर्ने बाध्यता रहेको व्यवसायीको भनाई छ । ‘गाइड र भरिया साथीहरुले अनावश्यक बार्गेलिङ गर्दा पर्यटकहरु सामू हाम्रो इमेज पनि बिग्रियो, व्यवसायी पनि ठगिन बाध्य भए उक्त कुरा अब रोकिन्छ भन्ने हाम्रो विश्वास हो’ एमक्यापका प्रमुख लामाले भने ।
जगतको काउन्टरमा कर्मचारी राखेर उठाएको रकम हरेक वर्ष सिजन सकिएपछि कुपनका आधारमा सामुहिक रुपमा बाढ्ने व्यवसायीले सहमती गरेका छन् । सोही अनुरुप काउन्टर स्थापना गरिसएको छ । विश्वकै आकर्षक पदमार्ग मनास्लु भ्रमण समय सुरु भइसकेको छ । पदयात्राका लागि फागुन–चैत देखि, साउन–भदौं सम्मको समयलाई उपयुक्त मानिन्छ ।
मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न, मनास्लु हिमाल आरोहण गर्न, चुमनुब्री उपत्यकाको भ्रमण गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु त्यस तर्फ लाग्ने क्रम सुरु भइसकेको छ । सो क्षेत्रमा साना ठुला गरी करिब सय भन्दा बढि सुबिधा सम्पन्न होटलहरु सञ्चालनमा छन् ।


